विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ ।
नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।
‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजयकुमार यादवको शव विराटनगर ४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धान भई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
उनी लगनशील र मिलनसार स्वाभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।
डा. यादव विराटनगर ४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करीब ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए ।
डा. यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै टायर बालेर प्रदर्शन समेत गरेका छन् ।
Discussion about this post