इटहरी : इटहरी गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङबीच भिडन्त हुँदैछ ।
इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि भिडन्तअघि शुक्रबार दुवै टिमका प्रशिक्षक र कप्तानले ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै आफूहरूले खेल जित्ने दाबी गरे ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँका प्रशिक्षक नवीन न्यौपानेले सगरमाथा क्लबको राम्रो खेल रहेकाले चुनौती सामना गर्न कठीन हुनेभएपनि गोल्डकपको उपाधि जित्ने बताए ।
‘मोरङको टिमले मनाङ–मस्र्याङ्दी टिमलाई पराजित गर्दै फाइनलमा आएको छ,’ उनले भने, ‘यो टिम अब्बल रहेकाले हामीले रणनीतिक तरिकाले खेल खेल्ने तयारी गरेका छौँ, खेल रोमाञ्चक हुनेछ ।’
आर्मीका टिम कप्तान भरत खवासले धेरैजसो ठाउँमा आफूहरूले फाइनल खेल खेलिरहेकाले जित निश्चित जस्तै रहेको दाबी गरे ।
‘हामीले धेरैजसो ठाउँमा फाइनल खेलिरहेका छौँ, यहाँ पनि खेल्नका लागि दबाब छ,’ उनले भने, ‘सगरमाथा क्लबलाई म्याच जित्न गाह्रो छ, तर फाइनल जित्ने लक्ष्यका साथ रणनीति अपनाएर खेल खेल्ने तयारी गरेका छौँ ।’
उनले सगरमाथा क्लब आफ्नै ठाउँको क्लब रहेकाले चुनौती सामना गर्न कठीन रहेको बताउँदै फाइनल खेलले नयाँ अनुभव हुने सुनाए ।
यता, सगरमाथा युथ क्लबका प्रशिक्षक युवेन गुरुङले आफूहरू फाइनलसम्म पुग्नु नै जित रहेको बताए ।
उनले भने, ‘हामीले अनपेक्षित रुपमा फाइनल खेल तय गरेका छौँ, खेल जित्नका लागि निकै कठीन छ, तरपनि राम्रो तरिकाले खेल्नेछौँ ।’ उनले आर्मीलाई जित्नका लागि निकै कठीन रहेको भएपनि खेल जित्नका लागि केही ‘प्रि प्लान’ गरिराखेको बताए ।
यस्तै, सगरमाथाका टिम कप्तान अशोक खवासले फाइनलमा पुग्नका लागि तय गरेको यात्राले मनोबल बढेकाले खेलको उपाधि जित्ने बताए ।
उनले भने, ‘फाइनलमा पुग्नका लागि जसरी मनोबल बढ्यो त्यही मनोबलले नै हामी यो उपाधि जित्छौँ भन्ने विश्वास छ ।’ उनले आफूहरूलाई दर्शकको साथ भएकाले पनि उत्सुक रहेको बताउँदै राम्रो खेल्ने विश्वस्त दिलाए ।
यसअघि झापा गोल्डकपको बिजेता समेत रहेको आर्मीको सम्भावना उच्च रहेपनि मोरङको स्थानीय क्लब सगरमाथामा ए डिभिजन लिग खेलेका खेलाडीको वर्चश्व रहेकाले खेल रोमाञ्चक हुनेछ ।
यसअघि गोल्डकपको उद्घाटन खेलमा आर्मीले आयोजक राष्ट्रिय जागृति क्लब र रोलिङ क्लब झापालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
यस्तै, सगरमाथा क्लबले ए डिभिजनको न्यूरोड टिम (एनआरटी) र मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
आयोजक राष्ट्रिय जागृत क्लबका सचिव केशव कार्कीका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको स्कुटर प्रदान गरिनेछ भने इटहरीका उदयीमान खेलाडीलाई ४० इन्चको एलइडी टिभी प्रदान गरिनेछ ।
यस्तै, बेस्ट गोलकिप्पर, बेस्ट कोच, बेस्ट मिल्ड फिल्टर, बेस्ट फरवार्ड र बेस्ट हाइस्कोररलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरिने कार्कीले बताए ।
शनिबार इटहरी रंगशालामा हुने फाइनल खेलको बिजेताले नगद सात लाख र उपबिजेताले नगद तीन लाख ५० हजार रुपैँया हात पार्नेछन् ।
Discussion about this post