इटहरी : विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ को दशौँ श्रृङ्खलामा कवि बद्री भिखारी प्रस्तुत भएका छन् ।
शनिबार आयोजना गरिएको ‘काव्यरोहण’मा इटहरी निवासी, चर्चित कवि भिखारीले दर्जन बढी कविता प्रस्तुत गरे ।
‘जब म पहाड सम्झन्छु’, ‘स्कुलको चिठ्ठी’, ‘ऐना’, ‘साँची तपाईँको छोरो भेट्नुभो ?’, ‘मेरो ठेगानामा चिठ्ठी नलेख्नु’, ‘सिद्वार्थ’, ‘प्रज्ञातिर’, ‘सिराहा’, ‘नागरिकता’, ‘नानीहरूसित’, ‘जस्तो–जस्तो’, ‘गाउँको राज’, ‘तिमीले राम्रो भनेपछि’, ‘हिँड्दाहिँड्दै’ शीर्षकका कविता सुनाए ।
कविता सुनाउने क्रममा उनले बेलाबेला दर्शकदीर्घाबाट वाहवाही पाए ।
कविता सुनाउनुअघि आफू लामो समयसम्म विराटनगरमा जागिरे जीवन बाँचेकाले पनि यस ठाउँमा कविता सुनाउनु महत्वपूर्ण रहेको बताए ।
चार दशकदेखि कविता लेखनमा सक्रिय उनी चर्चित कवि हुन् । भिखारीका ‘हत्केलाभरिका रेखाहरू’ (२०४२) मुक्तकसंग्रह, ‘माड्साबको झोला’ (२०५६) कवितासंग्रह र ‘समुद्र साउती’ (२०७५) कवितासंग्रह प्रकाशित छन् ।
२०१७ पुष १५ गते ओखलढुङ्गामा जन्मिएका भिखारी लामो समय सरकारी सेवामा रहेर हाल सेवानिवृत्त कर्मचारी पनि हुन् ।
आरोहण गुरुकुलले २०७६ मंसिर ७ गतेबाट सुरु गरेको ‘काव्यारोहण’ हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कवि रमेशचन्द्र अधिकारीले बताए । यसअघि वैरागी काईँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्मा, सुमन पोखरेल, श्रवण मुकारुङले काव्यारोहणमा कविता सुनाएका छन् ।
कवि रमेशचन्द्र, धीरज राई र दीपेश भण्डारीले संयोजन गर्दै आएको कार्यक्रम हरेक महिनाको पहिलो शनिबार आयोजना गरिदैँ आएको आरोहण गुरुकुलमा अध्यक्ष भैरव क्षेत्रीले बताए ।
Discussion about this post