इटहरी : इटहरीमा शुक्रबारदेखि नाटक “रिफन्ड” प्रदर्शनमा आउने भएको छ । कलालय इटहरीले प्रस्तुत गर्न लागेको नाटक १३ गतेसम्म चल्नेछ।
दिउँसो ४ बजेदेखि प्रदर्शनमा आउने नाटक एक घन्टाको रहेको छ । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार इटहरी ६ मा रहेको तायारिप्ची भवनमा प्रदर्शन हुने नाटकमा विद्यार्थीलाई एक सय रुपैयाँ र अन्य मानिसलाई दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।
“कथामा एउटा स्कुल हुन्छ, स्कुलमा पढिसकेपछि पढेका कुरा केही, कतै काम नलागेपछि पुनः विद्यालयमा पढेको पैसा ब्याजसहित फिर्ता मागिन्छ,” उनले भने, “शिक्षा क्षेत्रमा रहेको बेथितिबारे सचेत गराउन यो किसिमको नाटक गरिएको हो ।”
उनका अनुसार आफ्नै नाटक घर नहुँदा इटहरीमा नाटक गर्न अत्यन्त कठिन छ । सरकारको उदासीनताले नाटक क्षेत्रमा उदाउँदै गरेका नयाँ पुस्ताहरू पनि यस क्षेत्रबाट बाहिरिदैं गएको उनको अनुभव छ ।
कक्षा ११ मा रहेको अंग्रेजी विषयमा अध्यापन हुँदै आएको फ्रीन्ज केरिन्थीद्वारा लिखित नाटक प्रजल दुलालले अनुवाद गरेका हुन् ।
दुलालकै निर्देशनमा प्रदर्शन हुन लागेको नाटकमा सुष्मा भट्टराई, हिमा पौडेल, मनिल न्यौपाने, विकास श्रेष्ठ, करण प्याकुरेल, हिमाल निरौला, प्रजल दुलाल, डेबिड बिष्ट, विनय कोइराला, जीवन बस्नेत र मुना भट्टराईको अभिनय छ ।
कलालय इटहरीले ०६४ सालदेखि नाटक क्षेत्रमा काम गर्दै आएको छ। यसअघि दुई वर्षअघि अन्तरदेशीय साझा रङ्गमन्छ “द टेलटेल हर्ट” इटहरीमा प्रदर्शन गरिएको थियो ।
Discussion about this post