इटहरी : इटहरीमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्र स्थापना गरेको छ ।
धरान १० मा मुख्य कार्यालय रहेको सहकारीले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै सदस्य सेवा केन्द्र स्थापना गरेको हो ।
प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले रिबन काटेर कार्यालयको उद्घाटन गरे । उद्घाटनपछि कार्यक्रममा बोल्दै खत्रीले इटहरीमा सेवा केन्द्रको स्थापना हुनु सकारात्मक रहेको बताए ।
उनले सहकारीको सेवा केन्द्र स्थापना गर्नका लागि कम्तिमा पाँच करोड पुँजी आवश्यक पर्ने बताए । पछिल्लो समय सहकारी संस्थाहरू घाटामा रहेको र सेवाग्राही मारमा परेकाले त्यसतर्फ ध्यान दिनका लागि उनको जोड थियो ।
कार्यक्रममा कार्यालयका कार्यकारी प्रमुख जीतबहादुर राउतले हाल सहकारीको कुल पुँजी करीब ४० करोड रहेको बताए ।
उनका अनुसार सेयर पुँजी पाँच करोड, निक्षेप रकम करीब ३० करोड र कोष तथा अन्य गरेर करीब ४० करोडको हाराहारीमा कारोबार भइरहेको बताए ।
उनका अनुसार यसअघि धरान, देउराली र तेस्रो सेवा केन्द्रको रुपमा इटहरीलाई रोजिएको हो ।
इटहरी ६ स्थित इलाका प्रहरी कार्यालय अगाडि कार्यालय स्थापना गरिएको सहकारीका सचिव सिंहबहादुर मादेनलले बताए ।
उनका अनुसार सेवाको भावले २०६८ सालमा स्थापना गरिएको सहकारीले चाँडै नै बराहक्षेत्रको चक्रघट्टीमा सेवा केन्द्र स्थापना गर्न लागेको छ ।
हाल संस्थामा दुई हजार ६७४ सेयर सदस्य, ३७ जना कर्मचारी रहेको उनले बताए ।
Discussion about this post