इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व हुँदा नेकपा एमालेलाई फाइदा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी ३ मा नेकपा एमालेका उमेश सुवेदीको प्यानल विजयी भएको छ ।
सुवेदीले ९६८ मत प्राप्त गर्दै विजयी भएका हुन् । यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार तुला लिम्बूले ८६१ मत प्राप्त गरे ।
नेपाली कांग्रेस इटहरी ३ का वडासभापति समेत रहेका उनले टिकट नपाएपछि बागी उम्मेदवार दिएका थिए । यस्तै, नेपाली कांग्रेसबाट टिकट पाएका नगर उपसभापति समेत रहेका बालकृष्ण विष्टलाई ७३६ मत प्राप्त भयो ।
इटहरी ३ मा तुला लिम्बूको समूहले बालकृष्ण विष्टलाई टिकट ल्याउनबाट रोक्न खोजेको थियो । आफूहरूले टिकट पाएमा मात्रै विजयी हुने भन्दै उनलाई टिकट ल्याउनबाट रोक्न खोजिएपनि विष्टले नै टिकट ल्याएपछि लिम्बूले बागी उम्मेदवार दिएका थिए ।
विष्टसँग रुष्ट रहेका लिम्बूको समूहसहित यहाँका बासिन्दाले यसपटक नेतृत्व परिवर्तन चाहेको स्थानीयको भनाई छ ।
यसअघि ०७४ मा फराकिलो मतान्तरले वडाध्यक्षमै विजयी भएका विष्टलाई पछिल्लो समय जनसमुदायले रुचाएको थिएन ।
वडाध्यक्षमा विजयी भएका सुवेदीको प्यानलमा नेकपा एमालेबाट महिला सदस्यमा पवित्रा कोइराला निर्वाचित भएकी छन् । उनले १,२०० मत प्राप्त निर्वाचित भएकी हुन् ।
यस्तै, कांग्रेसकी इन्दिरा मगर (राई) ले ७७८ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकै मीना रसाईलीले १,१८३ मत प्राप्त गर्दै विजयी भइन् । कांग्रेसकी निर्मला बिकले ८१८ मत प्राप्त गरिन् ।
यस्तै, सदस्यमा एमालेका टीकाराम तामाङले १,१४९ मत प्राप्त गर्दै विजयी भए भने एमालेकै दीपेन्द्र लिम्बूले १,१८१ मत प्राप्त गर्दै विजयी भएका छन् । कांग्रेसका घनश्याम दाहालले ७९४ मत प्राप्त गरे भने नेकपा माओबादी केन्द्रका आशिक तामाङको ५२३ मत प्राप्त भयो ।
Discussion about this post