धरान : धरान ११ का ३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा संलग्न दुईजना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई नाबालकबाट लम्जेलको हत्या भएको पाइएको छ । पक्राउ पर्नेमा धरानस्थित बगरकोटको एक होटलमा काम गर्ने १७ वर्षीय र १३ वर्षीय बालक छन् । दुवैले लम्जेलको हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डीएसपी) नरेन्द्र कार्कीका अनुसार जेठ १२ गते बिहान धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दीपको शव भेटिएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा लम्जेलको हत्यामा संलग्न धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ वर्षीय नाबालक र धरान १५ बगरकोटका १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो ।
उनीहरू दुवै नाबालक रहेकाले परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धान अनुसार नाबालकलाई सन्दीपले फोन गरेर ‘शारीरिक सम्बन्ध राख्ने केटी खोजीदेउ’ भन्दै धम्की र गालीगलौज गरेकाले उक्त कारणलाई लिएर हत्याको स्थिति आएको खुलेको छ ।
‘रिसईबीले होटलमा भएको दुई थान छुरीले सेउती खोला नजिक लगेर हत्या गरिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता कार्कीले भने, ‘मृतकको पेट, ढाड‚ कुम‚ घाँटीको अगाडिको भागमा निरन्तर छुराले घोपेको र घाँटीको पछाडि गर्धनको भागमा छुराले रेटेर हत्या गरेको खुलेको छ ।’
हत्यामा संलग्नलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।
घटनाको अनुसन्धानको लागि १ नं. प्रदेश प्रहरीको (आरआईटी) समूह, संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोली संयुक्त रुपमा परिचालित भएका थियो ।
Discussion about this post