इटहरी : गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागि परेको भन्दै इटहरीमा कांग्रेस कार्यकर्तालाई पार्टीले कारबाहीका लागि सिफारिस गरेको छ ।
पार्टीभित्रैबाट अन्तरघात भएको प्रमाणसहित इटहरीको वडा नं. १७ कार्यसमितिले अन्तरघात गर्ने व्यक्तिलाई कारबाही गर्न जिल्ला पार्टी कार्यालय सुनसरीलाई सिफारिस गरेको हो ।
इटहरी वडा नं. १७ का कांग्रेस सभापति महेन्द्रभक्त राईका अनुसार कांग्रेसमै बसेर एमालेलाई सघाएको र कांग्रेसका उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै कारबाहीका लागि नगर, क्षेत्र हुँदै जिल्ला पार्टी कार्यालय समक्ष कारबाहीका लागि सिफारिस गरिएको छ ।
‘वडा नं. १७ का बमबहादुर ढकाल लगायत आठजनाले कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका भगवानलाल साहलाई कसरी जित्दो रहेछ म हेर्छु भन्दै भनेको प्रमाण फेला परेकाले कारबाहीको लागि सिफारिस गरेका हौँ,’ राईले भने, ‘एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका प्रभात आचार्यसँग चुनावको तीन दिन अघि गोप्य वार्ता समेत गरेकाले कांग्रेसको विधान अनुसार कारबाहीको लागि सिफारिस गरेका छौँ ।’
उनका अनुसार आठजनालाई कारबाहीको सिफारिस गरिएको छ ।
ढकालसहित जीवन कुमार राई, खेम पन्धाक, ओम गौतम, छवि आचार्य, विनोद सदा, राजेश कार्की र नवलकुमार खड्का लगायतले कांग्रेसका उम्मेदवार हराउन प्रत्यक्ष भूमिका खेलेको ठहर गर्दै वडा कार्यसमितिले कारबाहीको सिफारिस गरेको सभापति राईले बताए ।
उनका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) २०७५ फागुन १२ गतेको संशोधन विधान अनुसार धारा (३४) को उपधारा (१), (घ) र ङ बमोजिम कारबाहीको सिफारिस गरिएको हो ।
यसअघि धरानमा पनि कांग्रेस उम्मेदवार हराउन लागि परेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।
यसअघि नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले एक विज्ञप्ती जारी गर्दै कांग्रेसका बागी, बिद्रोही वा काँग्रेसका आधिकारिक उम्मेदवारबिरुद्ध जानेलाई कारबाही गर्ने संकेतसहित सबै नगर र वडामा परिपत्र गरेका थिए ।
Discussion about this post