इटहरी : नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।
जेष्ठ ३० गते हुने निर्वाचनमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले जानकारी दिए । उनका अुनसार प्रमुखमा राजन मेहता र उपप्रमुखमा कमला खतिवडालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
मेहता इनरुवा नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी इनरुवा २ बाट वडासदस्यमा निर्वाचित भएका थिए । यस्तै, खतिवडा इनरुवा १ बाट वडासदस्यमै निर्वाचित भएकी थिइन् ।
‘अहले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार फाइनल भएको हो, सदस्यहरूको २९ गते मात्रै फाइनल हुन्छ,’ साहले टाकुरासँग भने, ‘गठबन्धन अनुसार अब नेपाली कांग्रेसले चार सदस्य पाउने सहमति भएको भएपनि उम्मेदवार टुङ्गिएको छैन ।’
उनका अुनसार जिससमा प्रमुख र उपप्रमुख एक–एक जना र ७ जना सदस्य रहने व्यवस्था छ ।
गठबन्धन दल भित्र भएको सहमति अनुसार सदस्य मध्ये चार जना नेपाली कांग्रेसले पाउने छ । बाँकी तीन मध्ये माओवादी केन्द्र र नेकपा एसबाट एकएक जना महिला सदस्य र जसपाबाट एक जना पुरुष सदस्य चुनिने छन् ।
सुनसरीका १२ वटा स्थानीय तहमा २४ मतदाता छन् । प्रमुख–उपप्रमुख गरी कांग्रेसको स्पष्ट बहुमत अर्थात् १३ जना प्रतिनिधि छन् । निर्वाचन आयोगका अनुसार जिसस निर्वाचन प्रक्रिया अन्र्तगत मनोनयन दर्ता बिहीबारबाट सुरु हुने भएको छ ।
निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ।
Discussion about this post