इटहरी : ट्रिपरको ठक्करबाट इटहरी २० तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन भएको छ ।
आज (बिहीबार) दिउँसो ३ः१५ बजे ट्रिपरको ठक्करबाट दुहबी ५ स्थित बूढीखोला पुल नजिकै खवास पत्नी ५८ वर्षीया कृष्णकुमारी खवासको निधन भएको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को २८ प ८५४४ नम्बरको मोटरसाइकलाई युपी ५७ एटि ३८३७ भारतीय नम्बर प्लेटको ट्रिपरले ठक्कर दिँदा कृष्णकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘ट्रिपरको ठक्करले मोटरसाइकलबाट गाडीको साइटपट्टी उछिट्टिएर लड्दा टाउकोमा गम्भीर चोट लागेकाले घटनास्थलमै निधन भयो,’ इलाका प्रहरी कार्यालय दुहबीका एक प्रहरीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘विपरीत दिशाबाट ट्रिपर गइरहेको र मोटरसाइकल इटहरीतर्फ आइरहेको भएपनि भवितव्य रूपमा दुर्घटना भयो ।’
घटनास्थलमै मृत्यु भएपछि कृष्णकुमारीको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
मोटरसाइकल चालक ६६ वर्षीय मछिन्द्र खवासको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । मछिन्द्र नेपाली कांग्रेसका नेता समेत हुन् । उनी यसअघि नेपाली कांग्रेस सुनसरी जिल्लाका सल्लाहकार तथा तरहराका अग्रज नेता हुन् ।
घटनामा ट्रिपर चालक भारत कोशीनगर बस्ने ४५ वर्षीय मन्नी यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरेको प्रहरीले जनाएको छ ।
यस्तै, दुवै सवारी साधन प्रहरी चौकी निमुवा, मोरङले नियन्त्रणमा लिएको छ ।
Discussion about this post