इटहरी : इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास नजिकै एकता टोलमा चितुवा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको मुख्य चौकमा पर्ने यो क्षेत्रमा आज (सोमबार) बिहान चितुवा भेटिएको हो ।
चितुवा भेटिएपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरीसहितको टोलीले सुरक्षित रूपमा नियन्त्रण लिनेबारे छलफल भइरहेको छ । यस्तै, कोशीटप्पु वन्यजन्तु आरक्षबाट पनि कर्मचारीहरू आइरहेको घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलले जानकारी दिए ।
‘इटहरीमा कहिल्यै नदेखिएको चितुवा अहिले देखिएपछि अचम्मित भएको अवस्था छ,’ भुजेलले भने, ‘अहिले सुरक्षा निकायको छलफल भइरहेकाले यसलाई सुरक्षित रूपमा नियन्त्रण लिने प्रयास भइरहेको छ, कहाँबाट, कसरी र कतिबेला आयो भन्ने यकिन खुलेको छैन ।’
आज बिहान ३ः३० बजेतिर स्थानीयले बाटोमा देखेका थिए । तर, कुकुर भनेर वास्ता नगर्दा झम्टिएपछि चितुवा रहेको खुलेको छ । मानिसको हो–हल्लाले घरको ग्राउण्डभित्र पानीको दहमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
इटहरी ६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा अहिले चितुवा बसेको छ । प्रहरीले नेटको माध्यमबाट नियन्त्रणमा लिने प्रयास गरिएपनि सुरक्षा निकायको छलफल भइरहेको भुजेलले बताए ।
भिडियो
Discussion about this post