इटहरी : जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसका राजन मेहता विजयी भएका छन् ।
आज (सोमबार) भएको निर्वाचनमा नेपाली कांग्रेस इनरुवा नगर सभापति समेत रहेका मेहता विजयी भएका हुन् ।
जिल्लामा कुल २४ मतदातामध्ये उनले १४ मत प्राप्त गरे । यस्तै, एमालेबाट उम्मेदवार रहेका जगनारायण मेहताले १० मत प्राप्त गरे ।
यस्तै, सह–संयोजकमा कांग्रेसकै कमला खतिवडा निर्वाचित भइन् । उनले १४ मत प्राप्त गर्दा एमालेकी सबिना सिग्देल १० मत प्राप्त गदैै पराजित बनिन् ।
मेहता इनरुवा नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । उनी इनरुवा २ बाट वडासदस्यमा निर्वाचित भएका थिए । यस्तै, खतिवडा इनरुवा १ बाट वडासदस्यमै निर्वाचित भएकी थिइन् ।
यस्तै, दलित महिला सदस्यमा पनि निर्वाचन नै भएको छ । दलित महिला सदस्यमा इटहरी २० बाट वडासदस्यमा निर्वाचित कुमारी विकले १४ मत प्राप्त गर्दैै विजयी बनिन् ।
निर्वाचन कार्यालयका अनुसार अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने सबै गठबन्धनका रहेका छन् ।
सदस्यहरूमा टंकप्रसाद गुरुङ, सलिन मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भुप्रेन्द्र उराउ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ।
जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ।
Discussion about this post