इटहरी : कवि तथा साहित्यकार कविता राईको नवकृति ‘गुरू’ माथि इटहरीमा परिचर्चा गरिएको छ ।
शब्द प्रवाह इटहरीको आयोजनामा शनिबार परिचर्चा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कृतिकार कविता राईले शिक्षकमाथि केन्द्रीत रहेर उपन्यास तयार गरिएको बताइन् ।
‘शिक्षकलाई समाजले उपेक्षित गरिएको हुनाले यो उपन्यास लेखिएको हो,’ उनले भनिन्, ‘यो उपन्यास लेख्दा केटाकेटीहरूसँग हराएँ, संवेदनशील भएँ, शिक्षकको वास्तविक जीवनमा आधारित रहेर उपन्यास तयार पारेँ ।’
उनले तीन वर्ष लगाएर लेखिएको उपन्यासमा यथार्थ पात्रहरू रहेको बताइन् । उनले भनिन्, ‘लेखकले जिन्दगीको कथा लेखेर मात्रै कविता, उपन्यास नबन्दोरहेछ । उपन्यासमा धेरै पात्रहरूका यथार्थ जीवन छन् ।’
उनले आफू अहिलेसम्म शिक्षण पेशामा रहेको भएपनि अबको मार्ग भनेको साहित्य जीवनलाई सुम्पिने उल्लेख गरिन् ।
कार्यक्रममा वक्ताका रूपमा रहेका लेखक तथा विश्लेशक प्रकाश राईले ‘गुरू’ उपन्यासले मार्मिक सन्देश प्रवाह गरेको बताए । उनले भने, ‘साझा मानिसहरूको मनोविज्ञानका रूपमा यो उपन्यास आएको पाइन्छ, यसले मार्मिक सन्देश प्रवाह गरेको छ ।’
उनले उपन्यासमा प्रेमको शक्ति ठूलो रहेको उदृत गरे । ‘मुन्धुम भनेको प्रकृति हो, पहिचान भनेको प्रकृति हो, प्रकृति भनेको सत्य हो,’ उनले भने, ‘हिंसाबाट हुने अप्रिय राजनीति बर्जित गर्नुपर्छ भन्ने सन्देश पनि उपन्यासमार्फत प्रवाह गरिएको छ, यो एकदमै सुन्दर र शशक्त कुरा हो ।’
वक्ता तथा कवि शुभलक्ष्मी लम्सालले आफ्ना विद्यार्थीसँग रमेरै उपन्यास तयार पार्नुले लेखक सफल भएको तर्क गरिन् ।
उनले भनिन्, ‘मान्छे बाहिर जस्तो हुन्छ, भित्र त्यस्तो हुँदैन, शिक्षकहरू बाहिर जलेर पनि भित्रभित्रै पढाइरहेछन् ।’ उनले पहिलो उपन्यास नै खारिएर निस्किएको बताइन् ।
वक्ता तथा कवि टीका आत्रेयले पुस्तक पढ्दा भावुक हुने भएकाले धेरै ठाउँमा रुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘पुस्तक पढ्दा धेरै ठाउँ रुनुपर्छ, लेखकीय पाटो काव्यिक छ । एउटा कविले लेखेको उपन्यास काव्यिक शैलीको हुन्छ भन्ने उदाहरण यो पुस्तकले देखाएको छ ।’
कवि बद्री भिखारीको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालक, पत्रकार विराट अनुपमले पछिल्लो समय इटहरीमा साहित्यका कार्यक्रम निरन्तर हुँदै गएको बताए ।
उनका अनुसार आगामी असार ११ गते बिहान ११ बजे इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासङ्ग्रहको विमर्श कार्यक्रमको समेत आयोजना गर्न लागेको छ ।
Discussion about this post