इटहरी : इटहरीमा सञ्चालित बिना इजाजतका मेनपावरलाई तत्काल कानूनी प्रक्रिया पूरा गर्न आह्वान गरिएको छ ।
संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले सोमबार पत्रकार सम्मेलन गरी बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल इजाजत लिन आह्वान गरिएको हो ।
इटहरीमा आधिकांश मेनपावरका शाखा कार्यालय बिना इजाजत सञ्चालित छन् । आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले संयुक्त रूपमा मेनपावरहरू कम्पनीमाथि छापा मारेको थियो ।
अनुगमनका क्रममा बिना इजाजत भेटिएका मेनपावर कम्पनीलाई कानूनी रूपमा दर्ता गर्न निर्देशन जारी गरिएको थियो । तथ्याङ्क अनुसार इटहरीमा ६० भन्दा बढी गैरकानूनी मेनपावरका शाखा छन् ।
जसले गर्दा विदेश जानेहरूको लगानी जोखिममा हुनुको साथै मेनपावर व्यवसायको छवि बिग्रदै गएको जनगुनासो बढेको छ ।
जनगुनासो बढेपछि संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले इजाजतको प्रक्रियालाई सहज बनाउन वैदेशिक रोजगार विभाग र सरकारसँग पहल गर्ने संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका संयोजक दुर्गा थापाले बताए ।
‘अवैध कम्पनीका कारण इजाजत पूरा भएर सञ्चालनमा भएका कम्पनीहरू बद्नाम भए,’ उनले भने, ‘कतिपय मेनपावरका शाखा इजाजतको प्रक्रियामा रहेको त कति जथाभावी कोठा भाडामा लिएर अवैध रूपले वैदेशिक रोजगारमा जानेहरुसँग पैसा र पासपोर्ट उठाउने गरेकाले जनगुनासो बढ्दो छ, यसले गर्दा पनि हामी बद्नाम भयौँ ।’
साथै, मेनपावर कम्पनीको नाममा बिचौलिया बढी हाबी भएका कारण समेत मेनपावरप्रति विश्वास गुम्दै गएको संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका सचिव गणेश ओलीले बताए ।
इजाजत प्राप्त मेनपावरको छाता संगठन संयुक्त वैदेशिक रोजगार व्यवसायी इटहरीले लुकिछिपी तथा गैरकानूनी रुपमा अब इटहरीमा वैदेशिक रोजगारका गतिविधि सञ्चालन नगर्न पहल थालेको हो ।
यसको लागि सबै निकायसँग पहल थालिने भएको छ ।
यो पनि – इटहरीका मेनपावरमा प्रशासनको अनुगमन, यी कम्पनी अवैध भेटिए
Discussion about this post