इटहरी : भोजपुरको हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको हत्या गरी नौ वर्षअघि फरार भएका एक अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगाका गम्भीरबहादुर दनुवार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुुसार २०७१ साल मङ्सिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय चित्रकुमार, उदयपुर त्रियुगाका गम्भीरबहादुर र संखुवासभा फाकुका विक्रम राई वनभोज (पिकनिक) खान भनेर धरान २० मा पुगेकोमा आपसी विवाद भइ दुई साथीको कुटपिटबाट चित्रकुमारको मृत्यु भएको हो ।
उनको हत्यामा संलग्नमध्ये विक्रमलाई २०७१ मङ्सिर १४ गते नै भोजपुरको दिङ्लाबाट पक्राउ गरी अनुसन्धानपश्चात् सुनसरी जिल्ला अदालतमा पेश गरिएको र पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरिएकोमा गम्भीरबहादुर भने फरार भएका थिए ।
२० वर्षको जेल सजाय पाएका गम्भीरबहादुरलाई असार १० गते काठमाडौँको बानियाटारबाट पक्राउ गरेको एसपी थापाले जानकारी दिए ।
उनलाई जिल्ला अदालत सुनसरीमा हाजिर गराएर कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको छ ।
Discussion about this post