विराटनगर : जमिनको मुआब्जा वा रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक सातादेखि सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री देउवाले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको व्यवस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीसहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० वर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानीयको मुआब्जा पनि वितरण नगरिएको कारण स्थानीयले सडक आन्दोलन गरिरहेको जानकारी नेता अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए ।
निवर्तमान मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।
विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड शिलान्यास भएको ४० वर्ष पुग्दा पनि नबनेको, विराटनगरको डुबानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग राखिएको थियो ।
नेता अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफू लाग्ने आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययनमन्त्री आएपछि आफूले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए ।
प्रधानमन्त्रीसँगको साक्षात्कारमा अर्याल र पराजुलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, प्रदीप भगत सहभागी थिए ।
Discussion about this post