इटहरी : निरन्तर पानी परेपछि इटहरीका सबै विद्यालय बन्द गरिएको छ ।
मनसुनी वर्षाका कारण इटहरी उपमहानगरपालिकाभित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले नगरभित्रका सम्पूर्ण विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख सूर्य सुवेदीका अनुसार इटहरी क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरू आगामी आइतबारबाट मात्रै सञ्चालन हुनेगरी विदा दिइएको हो ।
बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको हो ।
बाढीबाट विस्थापित भइ समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने भएकाले पूर्वतयारीस्वरुप विद्यालयमा पठनपाठन बन्द गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।
यस्तै, सुनसरीकै रामधुनी नगरपालिकाले पनि एक दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
उता, विराटनगर महानगरपालिकाले पनि एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सोही विद्यालयलाई बाढी पीडितको अस्थायी आवासको रुपमा प्रयोग गर्ने तयारी थालेको छ ।
Discussion about this post