इटहरी : इटहरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका १२ स्थित खनारमा सोमबार (आज) बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवकको मृत्यु भएको हो ।
इटहरीबाट खनारतर्फ जाँदै गरेको को. १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प १०६४ नम्बरको स्कुटरलाई सोमबार बिहान सवा ७ बजे ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वर्षीय रुपेश दाहाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरमा पछाडि सवार मोरङको सुन्दरहरैँचा ३ गछियाका २१ वर्षीय मनिष निरौलाको सोही अस्पतालमा उपचार भइरहेको छ।
ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
Discussion about this post