धरान : धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले आइतबार मेयर हर्क साम्पाङको कार्यकक्ष घेरेपछि साम्पाङले एउटा तस्वीर फेसबुकमा पोस्ट गरे ।
जहाँ मञ्जु भण्डारीलाई भोट माग्दै गरेको खेमराज नेपालीको फोटो राखिएको थियो । मेयर साम्पाङले बराह बचतको विषयलाई लिएर एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै फेसबुक पोस्ट गरेका थिए ।
स्थानीय निर्वाचनमा मेयरकी उम्मेदवार समेत रहेकी भण्डारीलाई मत मागेको फेसबुक ब्यानरसहित साम्पाङले सञ्जालमा पोस्ट गरेका थिए ।
भण्डारी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरकी उम्मेदवार थिइन् । निवर्तमान उपमेयर समेत रहेकी उनले आफ्नो फोटो दुरुपयोग भएपछि सामाजिक सञ्जालमा स्टाटस राख्दै मेयर साम्पाङलाई सचेत गराएकी छन् ।
‘धरानका मेयर हर्क साम्पाङ ज्यू ! बराह पीडितहरूसँगका तपाईँका प्रसङ्ग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ ?’ भण्डारीले लेखेकी छन्, ‘तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ ? नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शिर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो ।’
बराह सहकारीबाट पीडित रहेकाहरूको संघर्ष समितिका संयोजक खेमराज नेपालीले पीडितलाई उचालको आरोप लगाउँदै मेयर साम्पाङले उक्त पोस्ट राखेका थिए ।
बचतकर्ता तथा शेयरधनीको करोडौँ रकम अपचलन गरेको भन्दै वराह बचत तथा ऋण सहकारी संस्थालाई छानबिन गरी कारबाही गर्न र आफूहरूको पैसा फिर्ता माग्दै पीडितहरू आन्दोलनरत छन् ।
यसैबीच धरान उपमहानगरको सहकारी ऐन २०७५ दफा ६२ अनुसार सहकारीका सञ्चालकसहित कर्मचारीको बैङ्क खाता र स्थिर (अचल) सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो ।
साथै बराहअन्तर्गत सञ्चालित सम्पूर्ण संस्थाको खाता पनि रोक्का गर्ने निर्णय गरेको हो । सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ , आन्दोलनरत पीडितहरूले बराहको सबै सम्पत्ति रोक्का गरिनुपर्ने, सञ्चालकको निगरानी राख्नुपर्ने र बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने लगायतको माग राखेर चरणबद्द आन्दोलन गर्दै आएका छन् ।
Discussion about this post