इटहरी : सुनसरी जिल्लामा भर्खरै आएका नेपाल प्रहरीका उपरीक्षक (एसपी) प्रभु ढकालले यहाँ देखिएका विद्यमान समस्या निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) सञ्जयसिंह थापाको सरुवा भएपछि ढकालले सुनसरी प्रहरीको कमान्डर सम्हालेका हुन् । उनले सुनसरीमा अहिले देखिएको लागूऔषध कारोबार, चोरी तस्करी, झैझगडालाई निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।
‘सुनसरीमा मैले धेरैतिरबाट सूचना पाएअनुसार यहाँ लागूऔषध कारोबारीको संख्या बढ्दो रहेको पाएको छु,’ एसपी ढकालले भने, ‘लागूऔषध ओसारपसार गर्नेलाई खोजीखोजी पक्राउ गर्ने, कारबाहीको दायरामा ल्याउने र अन्य मानिसहरूलाई यसबाट हुने हानीबारे सचेतना गराउने अभियान सञ्चालन गरिनेछ, लागूऔषध कारोबारीको गम्भीर रूपमा अनुसन्धान हुन्छ ।’
उनले लागूऔषध कारोबारी तथा प्रयोगकर्तालाई बढावा दिने गतिविधि गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिने बताए । उनले भने, ‘आम समुदायमा, विशेषगरी युवा वर्गमा लागूऔषध विरुद्व सचेतना कार्यक्रम र स्कूल, कलेजमा पनि यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’
सुनसरी जिल्ला सीमावर्ती जिल्ला भएका कारण पनि यहाँबाट हुने चोरी, निकासी तथा भन्सार छली जस्ता समस्यामा आफू गम्भीर रहेको सुनाए । ‘खुल्ला सीमानाबाट हुने चोरी निकासी तथा भन्सार छलीका कुरामा गम्भीर छु,’ उनले टाकुरासँग भने, ‘मैले पालिकास्तरमा र प्रत्येक चौकीहरूमा यस्ता किसिमका गतिविधि हुन नदिन निर्देशन पनि दिएको छु ।’
पछिल्लो समय सरकारले मंसिर ४ लाई चुनावको घोषणा गरेसँगै खुल्ला सीमनाबाट हातहतियार समेत भित्रन सक्ने भन्दै उनले त्यसतर्फ पनि आफू सचेत रहेको एसपी ढकाल बताउँछन् । उनले भने, ‘चुनावलाई लक्षित गरी हातहतियार भित्रन नदिनका लागि सबै निकायसँग समन्वय भइरहेको छ ।’
उनले चुनावलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी भइरहेको बताए । ‘पालिका स्तरमा सुरक्षा सम्बन्धि ज्ञान दिनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी गरिरहेका छौँ,’ उनले थपे ।
पछिल्लो समय चाडपर्व समेत नजिकिदैँ गएकाले नकारात्मक गतिविधि हुन नदिनका लागि पनि आफू गम्भीर रहेको एसपी ढकालले सुनाए ।
चाडपर्वमा सुनसरीका मुख्य सहरहरू इटहरी, धरान जस्ता ठाउँमा गुण्डागर्दी हुने, जुवातासको खेल हुने, ग्याङ फाइटसम्म हुने भएकाले आफूले त्यस्ता नकारात्मक गतिविधि हुन नदिन मुख्य भूमिका चाल्ने ढकालले बताए ।
‘चाडपर्व नजिकिएकाले इटहरी, धरानमा हुने गुण्डागर्दी, जुवातास नियन्त्रण, ग्याङ फाइटका कुरामा पनि हामी नियन्त्रणमा लिन्छौँ,’ उनी भन्छन्, ‘चाडपर्वमा मादक पदार्थ सेवन गरी हाईवेमा ओभर स्पीड सवारी चलाउनेमाथि पनि ट्राफिकसँग समन्वय भएर कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’
उनले गाउँघरमा अझैपनि महिला, बालबालिका तथा जेष्ठ नागरिकहरू असुरक्षित रहेको बताउँदै भने, ‘समग्रमा विद्यमान मनोसामाजिक अवस्थालाई परिवर्तन गर्दा शान्तिसुरक्षा कायम हुन्छ भने, त्यसतर्फ अन्तरक्रिया, सचेतनाका कार्यक्रम समुदायसम्म पु¥याउन हामी सकारात्मक छौँ।’
जिल्लामा दिनहुँजसो लागूऔषध प्रयोकर्ता र कारोबारी पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए । बढ्दो सहरीकरणसँगै सुनसरीमा लागूऔषध कारोबारीलाई निर्मूलीकरण पार्नका लागि प्रहरीलाई चुनौती रहेको छ ।
Discussion about this post