इटहरी : इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका कर्मचारीले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्वा दायर भएको छ ।
कृषि अनुसन्धान केन्द्रको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख, हाल अवकाश प्राप्त रामदेव पण्डित, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्र, तरहराका निर्देशक कृष्णहरि श्रेष्ठ, लेखा एवं प्राविधिक अधिकृतसहित सातजनामाथि सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्वा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बंङ्गुर अनुसन्धान इकाईमा प्रमुखको रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाश कुमार यादव तथा बंङ्गुर बेच्नका लागि प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर गर्ने कर्मचारीहरूमा लेखा अधिकृतद्वय शोभितलाल यादव, तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ विरुद्व भ्रष्टाचार आरोपमा मुद्वा दायर गरिएको हो ।
उनीहरूले सात लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।
अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदनका आधारमा अनुसन्धान गरी मुद्वा दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरूको मिलेमतोमा बङ्गुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाई बिक्री गरेर सात लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।
सात लाख हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिएकाले आज (मंगलबार) विशेष अदालत काठमाडौंमा मुद्वा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Discussion about this post