विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको छ।
अनुगमनका क्रममा उपभोक्ता अधिकारको स्पष्ट उल्लङ्घन भएको भेटिएपछि चार व्यवसायीलाई कुल १२ लाख रुपैयाँ जरिवाना तिराइएको छ।
मंगलबार गरिएको संयुक्त निरीक्षणमा विमानस्थलका विभिन्न पसल तथा क्यान्टिनहरूले सामान्य खुद्रा मूल्य (एमआरपी) भन्दा धेरै गुणा बढी मूल्य लिएर सामान बिक्री गरिरहेको तथ्य फेला परेको हो।
यात्रुहरूको बाध्यता र सीमित विकल्पको फाइदा उठाउँदै मूल्य अस्वाभाविक रूपमा बढाइएको पाइएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीका अनुसार बोर्डिङ क्षेत्रभित्र रहेको एक पसलमा एक सय रुपैयाँ पर्ने चकलेट दुई रुपैयाँमा बिक्री गरिएको भेटिएको छ।
त्यस्तै, अन्य क्यान्टिन तथा क्याफेहरूले ५० रुपैयाँको पेय पदार्थलाई ८० देखि १६० रुपैयाँसम्म असुलेको पाइएको छ। केही स्थानमा त साना चकलेटजस्ता वस्तुमा समेत एमआरपीभन्दा दोब्बर नजिक मूल्य लिइएको देखिएको छ।
प्रशासनका अनुसार विमानस्थल जस्तो संवेदनशील र सीमित प्रतिस्पर्धा हुने क्षेत्रमा उपभोक्ता ठगी हुने सम्भावना बढी हुने भएकाले विशेष निगरानी गरिएको हो। सोही क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही अघि बढाइएको हो।
कानुनअनुसार दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर ठहर गर्दै दफा ३९ अनुसार प्रत्येक व्यवसायीलाई ३–३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
प्रशासनले कुल १२ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। अनुगमन टोलीका अनुसार बोर्डिङ कक्षमा सञ्चालित ममता होटल, विमानस्थलभित्र क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालि, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफे र अनुकूल होटल एन्ड भान्साघरले अधिकतम खुद्रा मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेका थिए।
प्रशासनले विमानस्थलभित्रका व्यवसायहरूलाई मूल्य सूची स्पष्ट रूपमा राख्न, एमआरपीको पालना गर्न र यात्रुहरूलाई ठग्ने गतिविधि तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ। साथै आगामी दिनमा नियमित अनुगमन कडा बनाइने संकेत दिएको छ।













Discussion about this post