जेनजी पुस्ता र एआई ‘जुम्ल्याहा सन्तान’जस्ता भएका हुँदा यो सिर्जनात्मक विचार र व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने विस्फोटक परिवर्तनको पक्षधर प्रविधिमैत्री पुस्ता हो ।
मुलुकमा लामो समयदेखि विद्यमान रहेको राजनीतिक, आर्थिक, न्यायिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रहेको व्यापक विकृति, विसङ्गति, अनियमितता, कुशासनजस्ता कारणहरूको संयोजनको उन्नत विस्फोट नै जेनजी विद्रोह हो ।
जेनजी विद्रोह राजनीतिक निराशा, बेरोजगारी, असमानता, भ्रष्टाचारका साथै प्रतिनिधित्वको अभावविरूद्धको प्रतिवाद र पुनर्जागरणको सुरुवात हो । नव चेतनाको सङ्केत हो । विद्यमान राजनीतिक संरचना, नेतृत्व शैली र मूल्य प्रणाली माथिको सशक्त प्रहार हो । नेपाली राजनीतिको ऐतिहासिक मोड हो ।
जसले राजनीतिक चेतनाको नयाँ लहर सृजना गरेको छ । काङ्ग्रेस, कम्युनिस्ट र मधेशवादी दलहरूले प्रजातन्त्र, समाजवाद, सङ्घीयता, पहिचान, समावेशिता, आरक्षणजस्ता शब्दावलीको मनोवैज्ञानिक तथा भावनात्मक शोषण र कालो राजनीतिक बजारीकरण गर्दै लामो समय शासन सत्ता सञ्चालन गरे ।
तर जनताले भ्रष्टाचार, दण्डहीनता, बेरोजगार, स्वास्थ्य र शिक्षाजस्तो अत्यावश्यक क्षेत्रमा माफियाकरण, दलतन्त्र, गुटतन्त्र, सर्वसत्तावादी चिन्तन, दृष्टिकोण र व्यवहार लगायत हरक्षेत्रमा कुशासन शिवाय केही पाएनन् ।
पछिल्लो समयमा त एआईको युगमा सामाजिक सञ्जालसमेत हठात बन्द गरेर आफ्नो कुरूप अनुहार लाई छोप्ने मूर्खतापूर्ण काम गरे ।
यही पृष्ठभूमि र यथार्थताको धरातलमा उल्लेखित कुशासनविरुद्ध नेपालको इतिहासमा पहिलोपल्ट र संसारमै विरलै देखिने घटनाको रूपमा दुई दिनमा सत्ता पल्टी भ्रष्ट शासकहरूलाई सेनाले उद्धार गर्नुपर्ने गरी जेनजी विद्रोह हुन पुग्यो ।
जसले अब मुलुकमा आमूल परिवर्तन चाहिन्छ भन्ने सन्देश सशक्त रूपमा प्रवाह ग¥यो ।
अनगिन्ती भ्रष्टाचार, दण्डहीनता र आलो र तातो नरसंहारको मुण्ड माला लगाएर गोलघरमा बस्नुपर्ने कुरूप अनुहारहरू दुलावासबाट बाहिर आएर वर्तमान अन्तरिम चुनावी सरकारलाई समेत बदनाम गर्ने, असफल बनाउने, निर्धारित समयमा निर्वाचन हुन नदिने तथा जेनजी विद्रोहलाई तुहाउने र मुलुकलाई गृह युद्धमा फसाउने र धमिलो पानीमा माछा मार्नेजस्तो आपराधिक हर्कत गर्दै आएका छन् । अन्यायपूर्ण सिस्टमलाई कायम राख्ने र त्यसको नेतृत्व पुनः आफैँले गर्नेजस्ता षड्यन्त्रको तानावाना बुन्दैछन् ।
तर भ्रष्ट, अनुउदारवादी तथा तानाशाही सत्ता, शक्ति र दलको नेतृत्वमा रहेका ओली र देउवाजस्ता कुपात्रहरूले नवयुवाहरूले डिजिटल शक्तिमार्फत गरेको सफल र ऐतिहासिक विद्रोहलाई आफ्नो कुकर्म र असक्षमता लुकाउन र ६ दर्जनभन्दा बढी नव युवाहरूले तिनका नेतृत्वमा रहेको सरकारको आदेश बाट चलेको गोलीबाट शाहदात प्राप्त गरेर गरेको सफल र ऐतिहासिक विद्रोहलाई अपहेलित र न्यून मूल्याङ्कन गर्दै विदेशीको चलखेल, घुसपैठ र आईएनजिओको ब्याकपमा भएको हिंसात्मक गतिविधि भनी अपमानित गर्दै आएका छन् ।
सायद पञ्चायतले बहुदलवादीहरूलाई भन्ने गरेको अन्तर्राष्ट्रिय तत्त्व भन्ने शब्द तिर्नु नपर्नेगरी सापटी लिएका होलान् । तसर्थ उनीहरूको हालत आउने निर्वाचनमा पञ्चहरूको जस्तै सचेत मतदाताले बनाउने नै छन् ।
अर्कातर्फ अनगिन्ती भ्रष्टाचार, दण्डहीनता र आलो र तातो नरसंहारको मुण्ड माला लगाएर गोलघरमा बस्नुपर्ने कुरूप अनुहारहरू दुलावासबाट बाहिर आएर वर्तमान अन्तरिम चुनावी सरकारलाई समेत बदनाम गर्ने, असफल बनाउने, निर्धारित समयमा निर्वाचन हुन नदिने तथा जेनजी विद्रोहलाई तुहाउने र मुलुकलाई गृह युद्धमा फसाउने र धमिलो पानीमा माछा मार्नेजस्तो आपराधिक हर्कत गर्दै आएका छन् ।
अन्यायपूर्ण सिस्टमलाई कायम राख्ने र त्यसको नेतृत्व पुनः आफैँले गर्नेजस्ता षड्यन्त्रको तानावाना बुन्दैछन् ।
आगामी निर्वाचनमा नयाँ राजनीतिक विकल्पको खोजी किन गर्ने ?
सहज अवस्थामा दुईपटक असंवैधानिक संसद् विघटन गर्ने ओली यतिखेर संसद् पुनस्र्थापनाको असान्दर्भिक माग राख्दैछन् । उनलाई थाहा छ, ६ दर्जन भन्दा बढी नाति नातिना उमेरका निर्दोष नवयुवाहरूको नरसंहार गर्ने सरकारको नेतृत्व गरेको र मेरो नव युवाहरूको रगतले पोतिएको कुरूप अनुहारलाई जनताले अनुमोदन गर्ने छैनन् ।
नेतृत्व छोडौँ आफ्नो नेतृत्वमा भएका भ्रष्टाचारको काण्डमा जेल जाने खतरा । त्यसैगरी ओलीको असंवैधानिक संसद् विघटनको सिफारिसलाई दलीय र न्यायिक परामर्शसमेत नगरी मध्यरातमा अनुमोदन गर्ने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी आफूलाई एमालेको वैकल्पिक नेताको रूपमा स्थापित गर्ने र कम्युनिस्ट एकता गर्ने नारा लिएर मदन भण्डारीको विधुवाको साहानुभूतिको जालझेल पूर्ण खेल खेल्न खोज्दैछन् ।
यी दुवै ‘प्रि टेस्टेड’ र ‘फ्लव फण्डा’हरू हुन् । काङ्ग्रेसले देउवाको अन्तिम कार्यकालमा आएर भागबन्डाको प्रधानमन्त्री खाने लोभले ओलीको अहङ्कार, घमन्ड र अनियमिततासँग सती गएर आफ्नो प्रजातान्त्रिक छविमा इतिहासमा नमेटिनेगरी कालो दाग लगायो । गगन र विश्व प्रकाशको हिजोको आत्मसमर्पणलाई हेर्दा अहिलेको चुरीफुरीलाई कति पनि पत्याउने ठाउँ छैन ।
जनता र कार्यकर्ता दिक्क होउन्जेलसम्म दल र सरकारको नेतृत्व गरेका माधव नेपाल र प्रचण्डको सम्भावित पार्टी एकताले कुनै आशाको सञ्चार गर्न सक्दैन । किनकि, उनीहरूको खुट्टी दल र सरकार प्रमुख हुँदा जनताले हेरिसकेका छन् ।
अर्कातर्फ उदारवादी लोकतन्त्रको गतिलाई तेजोवध गर्ने भएको हुँदा कम्युनिस्ट आन्दोलन नै विश्वव्यापी रूपमा असान्दर्भिक बन्दै गएको छ । मधेशवादी दलहरूको बोलाइ र गराइमा ठूलो अन्तर र विरोधाभास रहेको छ । नारा सुन्दर छन् । तर व्यवहार स्वार्थ केन्द्रित एकता, विभाजन र सता गठबन्धनमा मात्र केन्द्रित छ ।
राष्ट्रिय चरित्रको पार्टी बन्न नसकेकाले पनि यी दलहरूबाट मुलुक र जनताको अपेक्षा पूरा हुन सक्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लँदो खहरेको रूपमा उदायो खहरेकै रूपमा सुक्दै गएको छ । राजनीतिमा नैतिकता, वेदाग चरित्र र दृष्टिकोणको सर्वाधिक महत्व हुन्छ । तर यसको मूल नेतृत्व सहकारी ठगीजस्तो गम्भीर आरोपमा पुर्पक्षका लागि जेलमा छन् । सम्पत्ति शुद्धिकरण र अमेरिकी पासपोर्टको मुद्दा छानबिनकै क्रममा रहेका छन् ।
केही नेताहरूले पार्टी छोडने क्रम सुरु भइसकेको छ । भर्खरै सम्पन्न भएको सचिवालयको बैठकमा गम्भीर मतभिन्नताहरू देखिएका छन् । राजनीतिक र वैचारिक नेतृत्वको खडेरी देखिन्छ ।
लोकतन्त्रमा दलको भूमिका महत्वपूर्ण हुन्छ । सामान्यतयाः मुलुकको कार्यकारी प्रमुख नै दलको संसदीय दलको नेता बन्ने संवैधानिक प्रावधान हुन्छ । तसर्थ, स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु दलहरूसँग रिस फेर्नुबाहेक कुनै अर्थ हुँदैन ।
तसर्थ आउने निर्वाचनमा सम्पूर्ण सचेत मतदाताले आफ्नो स्वविवेकको प्रयोग गरी नयाँ राजनीतिक विकल्पको खोजी गर्नु पर्दछ । किनकि, जेनजी विद्रोह कुनै सामान्य आन्दोलन नभएर पुरानो राजनीतिक संरचना, सङ्गठनात्मक र रणनीति विरुद्धको प्रहार हो ।
जसले नयाँ राजनीतिक चेतनाको लहर सृजना गरेको छ । नयाँ नेपाल निर्माण गर्ने सन्देश दिएको छ । साथै पुरानो दलगत निष्ठाबाट मुक्त भएर वा विश्वास समाप्त भएर नयाँ विचार, दृष्टिकोण, पारदर्शिता र जबाफदेहिताको सन्देश प्रवाह गरेको छ ।
वैकल्पिक राजनीतिक शक्ति कस्तो हुनुपर्दछ ?
मुलतः पुराना राजनीतिक दलहरूका विरुद्ध जन्म हुने नयाँ राजनीतिक संस्कृतिसहितको नयाँ राजनीतिक दलहरू नै वैकल्पिक राजनीतिक शक्ति हुन् । नेपाललाई हल्लाउने दुई दिन भएको जेनजी विद्रोहले अपेक्षा गरेको वैकल्पिक राजनीतिक शक्तिले देहाय बमोजिमको विशेषता बोकेको हुनुपर्दछ ।
१. सामाजिक न्याय र अवसरको समानताको पक्षधर ।
२. पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्ध ।
३. डेटामा आधारित सोच ।
४. वैचारिक लचकता ।
५. संघीयता, आर्थिक उदारीकरण, नागरिकतन्त्र र सामाजिक लोकतन्त्रको पक्षधर ।
६. पर्यावरणीय र नैतिक चेतना भएको ।
७. भविष्यमुखी सोच भएको ।
८. अर्थराजनीति, प्रशासन र परराष्ट्रसम्बन्धी सन्तुलित ज्ञान भएको ।
९. विद्यमान ग्लोबल सिस्टम र वर्ड सिस्टमसँग अन्तरक्रिया गर्न सक्ने ।
१०. कानुनी राज्य र मानवअधिकार प्रति प्रतिबद्ध ।
११. सानो र छरितो सङ्गठनात्मक स्वरूप भएको ।
१२. दलभित्रको लोकतन्त्र र पुस्तान्तरणको सुनिश्चित भएको ।
१३. नागरिक सर्वोच्चतालाई स्वीकार गर्ने ।
समग्रमा वैकल्पिक राजनीतिक शक्ति पारदर्शी, डिजिटल, समावेशी, व्यवहारिक र भविष्यमुखी हुनुपर्दछ । जब वस्तुगत परिस्थिति परिपक्व भयो, तब तमाम विकृति र विसङ्गतिकोविरूद्ध स्वतःस्फूर्त रूपमा जेनजी विद्रोह भयो । ठिक त्यसैगरी यी तमाम पुराना दलकाविरूद्ध यही विद्रोहको गर्भबाट यिनका मागहरूलाई सम्बोधन गरी नयाँ नेपाल निर्माण गर्नको लागि नयाँ वैकल्पिक राजनीतिक शक्तिको जन्म हुनुपर्दछ ।















Discussion about this post