म ब्यूँझनुभन्दा अघि नै घाम ब्युझिएर हिडेसकेछ । म आङ तान्दै आगनमा निस्किनसाथ प्रकाशको आक्रमणमा परेँ । एउटा काम गर्ने केटो पनि आगनमा छ । ऊ दुब्लो छ । उसले लगाएको कमिज बाहिरबाट शरीरका हाड गन्न सकिन्छ ।
एक दुई तीन चार …। उसको आँखाबाट म देखिन्छु । एउटा औपचारिकता निभाउछ ऊ–कैले आउनु भो दाजै ?
–हिजो साँझ ।
–केमा ? बस, जीप ?
–बसमा आको ।
–बसमा हिड्दा त मजा हुन्छ है !
–अँ, हुन्छ ।
खासै बोल्ने मुड रैनछ मलाई । मैले उसलाई दिएका उत्तरबाट थाहा पाएँ ।
रहरहरू चकलेटजस्तै हुन्छन् । खाँदाखाँदै मुखबाट चकलेट खस्छ भुइँमा । धुलोले ढाकिन्छ । एकछिन म हेरिरहन्छु । ममा एउटा खै कुन तत्व छ जसले खसेको चकलेट टिप्न दिदैन । हाय रे ! मेरो प्रेम । एउटा प्रेम यसरी समाप्त भैसकेको छ । म यसैका छेउछाउ पुगेर केही कुरा लेख्छु ।
जिन्दगी यात्रा हो रे । भैराखोस् । यात्राका क्रममा केही आधा यात्रा भएका छन् । जसले कताकता चिमोट्छन् । काउकुती लगाउछन् । र, म ती यात्रा सम्झन्छु ।
पहिलो अध्याय
फुच्चु ,तिम्रो नाम के हो ?
–अमन
अमनको अर्थ के हुन्छ ? थाहा छ ?
–एउटा अबोध र चञ्चल आँखा भएको टाउको हल्लिन्छ । नाइँ भन्ने अर्थमा ।
म ठिस मान्छे । त्यो बच्चासँग अमनको अर्थ सोधिरहेछु ।
ऊ ऐले एउटी युवतीको काखमा छ ।
म फेरि सोध्छु–उहाँ तिम्रो मम्मी हो ?
युवती हाँस्छे । मुख छोप्छे रुमालले ।
मलाई थाहा छ त्यो युवती फुच्चेकी आमा होइन भन्ने । म जानीजानी सोधिरहेछु प्रश्न ।
छेमा हो उहाँ त – फुच्चेले उत्तर दिन्छ ।
म बोल्छु–ए हो र ? क्षमा चाहन्छु म ।
ऊ फेरि हाँस्छे ।
म दोहोराइरहन्छु । क्षमा चाहन्छु म । क्षमा चाहन्छु म ।
ऊ झ्यालनिरको सिटमा छे । म कोखैमा । कपाल बाँध्नु पाप हो । उसले पाप गर्ने कुनै मन गरिनछ । कपाल चकचक गरिरहेछ । चकचक गर्दै आउँछ मेरो गालामा, मुखमा, निधारमा ।
म अब कसैलाई सम्झिन्छु ।
क्रमशः त्यो कपाल मकैका पातझैँ लाग्छ मलाई । पास्दै जान्छ मकैका पातले । म फरक्क फर्किन्छु अन्तै ।
जाम छ । मुग्लिन अगाडि । म बसबाट ओर्लिनु पूर्व भन्छु–अमन, हिँड बाहिर जाऔँ ।
ऊ र म सडकमा हिड्यौँ ।
मैले सोधेँ–हाम्रो बस नं कति हो ।
–३०५६
हैन,३५०६ हो ।
ऊ हाँस्छ । उताबाट बाइक आए । ऊ भन्छ – हामी पनि बाइकमा आउनु पर्ने र छ ।
म सोध्छु–तिम्रो बाबाको बाइक छ ?
–नाइँ ,मामाको छ ।
बाबा कहाँ हुनुन्छ नि ?
–कतार
मम्मी ?
–कतार
म के के सोच्छु एकछिन ।
यतिबेला अगाडि ऊ युवती छ । भन्छे–अमन, अब हामी अर्को बसमा जाने ।
म ट्वाँ पर्छु ।
अमन – नाइँ ,दाइ जाने बसमै जाने हामी नि ।
म – किन के भयो र त्यो बसमा ?
–खै, खलासीले अर्कोमा सारिदियो । लोक्कल प्यासेन्जर । यस्तै हो । राम्ररी जानु है । ऊ अमनको हात समातेर बसभित्र छिर्छे । म नरोकी आफ्नो बसतिर लाग्छु ।
ऊ मुग्लिनसम्म पुग्ने वाली थि । फुच्चेको घर पोखरा रे । हनुमान चोक रे । कता पर्छ त्यो थाहा छैन मलाई ।
म छेमा चाहन्न । लोक्कल प्यासेन्जर । लोक्कल जिन्दगी ।
म क्षमा चाहन्छु ।
फागुन २९ गते
दोस्रो अध्याय
बस पार्क ।
यहाँ बिभिन्न किसिमका साधनहरूका साथसाथै केही आशाहरू पनि पार्किङ गरिन्छ ।
कसैले त जिन्दगी पनि यहीँ पार्किङ गर्छन् तर यो बसपार्क नै हो । कोमल तर मैला केही जिन्दगी देखिन्छन् सधैं । पोहोर पनि देखेथें । आज पनि देखें । भर्खरै एउटा मान्छे चुरोट प्युदै आउँछ । चुरोटको ठूटो फ्याक्छ र ऊ मेरा अँखाबाट क्रमशः हराउँछ र नयाँ चित्र अल्झिन्छ आँखामा ।
मैलो केटोले चुरोटको ठूटो टिप्छ । एक सास तान्छ । आफ्ना साथीहरूतर्फ हेरेर हाँस्छ । ऊ किन हाँस्यो ? मलाई यसको अर्थ थाहा छैन । तर ऊ हाँस्यो सजिलै । सायद उसले हाँस्न सिकेको छ । ऊ हाँस्यो । यो नै मलाई मन प¥यो ।
आशा–परम दुखको भाँडो ।
आशा–निराशाको शत्रु ।
आशा–तरुनीको नाम।
आशा–कसैकी आमैको नाम नि हुनसक्छ ।
बुटबल बसपार्कनिरै छु ।
बसपार्कमा आएपछि छुट्टिनु पर्छ रे । एकपटक छुट्टिएर हेरूँ क्यारे ।
पोहोर हो क्यारे ।
घरबाट बुटबल फर्किदा साथमा एउटी तरुनी जी पर्नु भएको थियो । म भर्खर लभबाट बाहिरिएको थिएँ । रेड कार्ड पाएर । प्रेमीहरू यति धेर ल्वाँठ हुन्छन् कि जुनकुनै रातो चीज गुलाब देख्छन् । मैले पनि गुलाब पाएँ ।
फेरि उसले दिएको कुरा जे पनि प्यारो लाग्छ । बिछोड पनि खुब प्यारो थियो । अँ तरुनी जीसँग बुटबलसम्म सँगै आएँ । मैले खुब धेरै हँसाएँ यात्रामा उसलाई । कुन्नि कुन ठाउँ आउदा भनेको थिएँ–यो बसमा ‘आमा बुबाको आशीर्वाद’ नलेखेर ‘गलफ्रेन्डको आशीर्वाद’ लेखे के हुन्छ होला ?
ऊ खुब धेरै हाँसेकी थि । हाँस्दै गर्दा हातले एक ढाप मेरो ढाडमा लगाई । अनि ऊ होसमा आई – कि म अपरिचित हूँ । अनि धेरै बेरसम्म झ्यालतिर फर्किरही । पाल्पाको मोडहरूमा मलाई भोमिट आयो । उसले मेरो टाउको समातिदी । भोमिट रोकिएपछि उसको अनुहारमा हेरेँ–केही पनि थिएन । मैले थाहा पाएँ कि यतिधेर भैसकेपछि पनि केही नहुँदोहेछ ।
सिद्धबाबानिरै आइपुगेपछि मैले हाँस्दै भनेको थिएँ–हजुरको नाम सोध्नै भुलेछु ।
त्यसपछि ओठ चलेका थिए । त्यस समयमा यस्तो आवाज आएको थियो–ठीक गर्नु भो । म बताउने वाला पनि थिइनँ । तर किस्नु, तपाईंको नाम थाहा पाएँ मैले ।
ऊ एकखेप हाँसेकी थिई ।
मैले ‘कसरी ?’ भन्नू अगावै भनेकी थिई–हजुरले फेसबुक चलाउदा देखें ।
सोधेकी थिई–एक पटक गुमेको कुरा फेरि पाइने कुरामा कत्तिको आशावादी हुनुन्छ ?
–खै !
बसको बेगका कारण उत्पन्न हावाले प्लास्टिकको झोला पर उछिट्टियो । केही धुलो उड्यो । अनि केही समयपछि सान्त भयो । त्यतिबेला बस टाढा पुगिसकेको थियोे ।
बसपार्क आइपुगेछि उसले भनेकी थिई–नाम नसोध्ने मेरो ?
मैले पनि प्रश्न गरें–नाम नबताउने मलाई ?
दुबै हास्यौं । झोला टिपिसकेपछि भनी–आशा ।
ऊ पर पुगिसकेकी थिई । मनमा शब्द उत्रियो–यो कस्तो आशा ? थाहा पाएपछि निराशा देखियो ।
आज–
बसमा चढिसकें ।
मेरो नजिकैको सिट खाली छ ।
म चाहन्छु–घरै पुगुन्जेलसम्म खाली रहोस् यो सिट । खाली भैराखोस् । म खाली भैराखूँ ।
मेरो दोस्रोपटक लभ परेर पनि तेस्रो हुने क्रममा छ ।
एउटै मान्छेसँग ।
दिल कपडाजस्तै च्यातेर मात्रै कहाँ पुग्यो र ?
ऊ फेरि फर्किएर आयो र पोछा बनाएर गयो ।
सोच्छु–तेस्रो पटकमा के बन्ने हुँला म ?
चाहन्छु–मेरो कसैसँग प्रेम नहोस् ।
तेस्रो अध्याय
घरबाट हिँडेपछि केही केही जिनिस छुटेजस्तो लागिरहन्छ । खै ! के छुट्यो छुट्यो तर छुट्यो ।
बसमा छु । ठीक अगाडि लेखिएको छ – नो स्मोकिङ
म चुरोट पिउदिन । मलाई बाल ।
श्री पशुपति नाथले हाम्रो यात्रा सफल पारुन् ।
हुन सक्छ हाम्रो यात्रा सफल पार्ने टेन्डर पशुपति नाथलाई परेको हो ।
म पछि फर्किएर हेर्छु । सिसामा बाहिर पट्टिबाट लेखिएको छ–
आमा बुबाको आशीर्वाद ।
हामी कहिल्यै परिर्वतन भएनौ । आधुनिक भएनौँ । गलफ्रेन्डको आशीर्वाद लेख्नु पर्दैन त त्यहाँ ?
म ढोकामा हेर्छु । हैन ,त्योभन्दा अघि अगाडिकी तरुनीलाई हेर्छु । छ्या ! भोमिट गरी यार । हेर्नुस् त्यही मुख, त्यही लाल ओठबाट बाहिरियो भोमिट । छ्या ! छ्या !
त्यता हेर्दिन । म अब ढोकामा हेर्छु । लेखेको छ–तपाईको सामान छुट्यो कि ?
यो दिलको द्वारमा पनि लेख्नु पर्दोरहेछ–तपाईको सामान छुट्यो कि ?
ए मान्छे,
यतै छुटेको तिम्रो यादले खुब दुख दिइरहेछ ।
Discussion about this post