अहिले देश संकटमा छ । अन्य समयमा देश संकटमा परेका बेला कवि साहित्यकारहरु देशको बारेमा बहस गर्न विभिन्न साहित्यिक कार्यक्रम देखि सडकमै पनि उत्रन्थे ।
तर, अहिले कोरोनाको महामारीमा लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यसैबीच इटहरीमा बसेर साहित्य साधनामा करीब दुई दशकयताबाट क्रियाशिल रहेका कवि हेमन यात्री अहिले मोरङको मिक्लाजुङस्थित आफ्नो जन्मगाउँमा छन् ।
यात्री भन्छन्, ‘इटहरीमै सबै किताब र ल्यापटप छोडिएको कारण न त अहिले केही पढ्न पाईएको छ, न त लेख्न नै, तर खास जीवन भने बुझ्न पाएँ ।’ उनले लकडाउनका कारण खास जीवन बाँच्न र भोग्न पाएको सुनाए ।
उनले टाकुरान्यूजसँग भने, ‘गाइबस्तु चराउँछु, छोराछोरी खेलाउँछु, साँझविहान गाउँका फोटो खिच्छु, फूलको, सूर्योदयको फोटो खिच्छु, यस्तै गर्दै दिनचर्या बितिराखेको छ ।’
उनले आँफूले बिताएको २५ बर्ष अगाडिको बालापनमा अहिले पुगेको अनुभव गर्दै भन्छन्, ‘गाउँमा लकडाउन भएको र नभएको अन्तर छैन, आजभन्दा २५ बर्ष अगाडिको समय फर्केर म बाँचिरहेको छु ।’
उनले यो पटक भने सहर र गाउँ बीचको अन्तर छुट्टिएको अनुभव सुनाए ।
‘यसपटक गाउँ बसाईको महत्व थाहा पाएँ, सहरमा न साथीभाईलाई भेट्न पाईन्थ्यो, न अन्य कतै हिड्न नै,’ उनले भने, ‘गाउँ त सधैँ जस्तो नै चलिरहेको छ, मानिसहरु पर्म तिर्न पनि गएकै छन्, खेत जोत्न पनि ।’
उनले अरु महिनौ दिनसम्म देशमा संकट परेपनि गाउँका मानिसहरुलाई संकटले नछुने तर्क गरे ।
‘गाउँ आफैँमा चलायमान छ, गाउँलाई चलाउँन कुनै सरकार आउँनुपर्दैन,’ उनले भने, ‘यस्तै अवस्थामा गाउँ बुझिदोँ रहेछ, यो समय सहर मृत छ, गाउँ जीवित छ ।’
Discussion about this post