तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दो छ ।
व्यवसायसँगै राजनीतिमा होमिएका उनी आफूले भ्रष्टाचारमुक्त वडा बनाउने अभियान अन्तर्गत वडाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।
वडाको सामाजिक, आर्थिक, भौतिक लगायत सम्पूर्ण स्थिति देखिनेगरी डिजिटल प्रोफाइल बनाउने, वडाबासीको विकास प्रक्रियामा संलग्न हुन पाउने हक, र सूचनाको हकमा सम्मान, दलीय विभेद नगरी जनताको सेवा जस्ता कुरालाई आफ्नो संकल्प पत्रमा उल्लेख गरेका पुरीले अहिले राष्ट्रको मुद्वा कमजोर भएको बताए ।
तरहराको विवेकपूर्ण विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘सुशासन स्वस्फूर्त बनाउन, बालमैत्री वडा बनाउन, वृद्वलाई लक्षित गरी सकारात्मक कार्यक्रम गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले अहिले यस क्षेत्रका खोलानाला अव्यवस्थित रहेका कारण त्यसलाई निरुपण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
अहिले घरदैलो अभियानमा जनताले आफूलाई लोकप्रिय रूपमा चिन्दै आएको र मत हाल्ने विश्वास दिलाउँदै आएकाले चुनाव जित्ने उनको विश्वास छ ।
उनले संकल्पपत्रमा उल्लेख गरेअनुसार वडाबाट भएगरेका सबै कामको सूचनापाटीमा टाँस गरिनेछ । यस्तै, स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायतका कुरामा पनि आफूले महत्पपूर्ण काम गर्ने उनले सुनाए ।
पुरीको प्यानलमा खुल्ला सदस्यमा नवराज कार्की, शरणबहादुर तामाङ, महिला सदस्यमा मनु पुरी र दलित महिला सदस्यमा कविता पाँंचकोटी चुनावी मैदानमा छन् ।
यस्तो छ पुरीको पृष्ठभूमि
२०३४ सालमा खोटाङको बाकाचोल गाविसमा जन्मिएका पुरी २०५१ मा तरहरा आएका हुन् ।
झण्डै एक दशक विदेश समेत बसेर आएका उनी २०६२ सालदेखि व्यापारसँगै राजनीति सुरु गरेका हुन् । विभिन्न संघसंस्थामा समेत योगदान पुर्याउँदै आएका पुरी यसअघि नेपाली कांग्रेस इटहरी २० को उपसभापति थिए ।
तर, उनले कांग्रेसबाट राजीनामा दिएर राप्रपाको राजनीतिलाई पुनः अगाडि बढाएका हुन् । यसअघि पनि राप्रपामै गएका उनी केही समय नेपाली कांग्रेसमा रहेर समेत योगदान गरे ।
राप्रपाको एजेन्डा बलियो र राष्ट्रबादी एजेन्डा रहेकाले आफूले राप्रपाबाटै राजनीति गरेको उनको भनाइ छ ।
Discussion about this post