इटहरी : धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
जीपी फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा बिहीबारदेखि भएको प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिकामाथि २–० को जीत निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।
धरानको जीतमा एन्सन राई र मिलन लिम्बुले १–१ गोल गरे । राईले खेलको ५१ औँ मिनेटमा गोल गरे भने लिम्बुले खेलको ८३ औँ मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित भए ।
भोली शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष सूर्य राइले जानकारी दिए ।
इटहरीस्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा प्रदेश १ का ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउनेछन् ।
चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको बिहीबार कांग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेपनि बिहीबारको खेल समय अभावका कारण स्थगित भएपछि प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।
Discussion about this post