झापा : झापा बिर्तामोडका मृत्यु भइसकेका टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ वर्षीय मंगलसिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् ।
यसैगरी झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।
उनीहरुले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पूर्व-पश्चिम राजमार्गमा जोडिएको स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
समूहले उक्त जग्गा ठगी गर्नको लागि पक्राउ परेका मध्ये देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौँ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजीनामा पास गरेको घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्वजनिक गरेको जनाएको छ ।
ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरुको समेतको संलग्नता तथा पहिचान भइ फरार रहेका उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत कीर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post