तरहरा : भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । कुनै मृत्यु यस्तो पनि हुन्छ कि, कहिल्यै नसोचेको कहालीलाग्दो ।
इटहरीमा शनिबार यस्तै कहालीलाग्दो घटना भएको छ ।
शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।
‘रातको अन्दाजी ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको अनुमान गरिएको छ,’ उनले टाकुरासँग भने, ‘तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा करेन्ट लगाइ माछा मार्न जाँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
उनका अनुसार शर्मिलाको शरीरमा करेन्ट लागेर नीलडाम छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीयका अनुसार यहाँको रोयल फर्निचरमा करीब दुई वर्ष अगाडिदेखि काठ ‘मिस्त्री’ को काम गर्दै आएका उनीहरु शुक्रबार अबेलासम्म सुतेका थिएनन् ।
रातको १२ बजेतिर छोरी रुएपछि ब्यूँझिएका स्थानीयले छोरीलाई कोठामा एक्लै भेटेका थिए । तर, रातको समय भएकाले खोजी नगरिएको र यतै कतै होलान् भनेर वास्ता नगरिएको घटनास्थलमा भेटिएका एक स्थानीयले बताए ।
तर, शनिबार बिहान साढे ५ बजे स्थानीय खोलामा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कुमार कटवालका अनुसार एकैठाउँ मृत भेटिएका हेमशेरको शव उत्तरपट्टी र शर्मिलाको दक्षिणपट्टी फेला परेको थियो ।
घटनास्थलमा प्रहरी, स्थानीय जनप्रतिनिधिसहितले मुचुल्का उठाएर उनीहरुको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको कटवालले जनाकारी दिए ।
‘रातको समयमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘मृतकका आफन्त उदयपुरका रहेकाले केटीको दाजुसँग सम्पर्क भएको छ ।’
उनका अनुसार मृतकका आफन्त उदयपुरको रौता ३ मजौमा रहेकाले मृतक शर्मिलाका दाजुसँग सम्पर्क भएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post