इटहरी : लगातारको वर्षाका कारण इटहरीमा डुबान भएको छ । आज रातिदेखि लगातार परेको वर्षाका कारण इटहरीका केही क्षेत्र डुबानमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार लगातारको वर्षाले पानीको सतह बढेको छ ।
विशेषगरी इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा परेका छन् ।
‘त्यस्तो खास ठूलो समस्यै त छैन, तर खेती खोला आसपासका केही घरहरु डुबानमा परेका छन्,’ केसीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘धेरै प्रभावित नभएपनि यही क्रमले पानी परिरहने हो भने क्षति हुनसक्छ, सतर्क हुनुपर्ने आवश्यकता छ ।’
पानी लगातार परेकाले खोला, नाला तथा डुबान हुने क्षेत्रमा पानी ‘ओभरफ्लो’ भएकाले वस्तीमै पस्ने खतरा समेत रहेको उनले जानकारी दिए ।
बर्सेनि बुढीखोला वर्षायाममा निकै भेल बढेर आउने हुदाँ यसको मुहानबाट अन्य ससाना खोलाहरुमा बाढीको भेल पस्ने समस्याले गर्दा इटहरीका धेरै क्षेत्र डमाडोल अवस्थामा पुग्ने गरेका छन् ।
विशेषगरी टेङ्ग्रा खोला, बुढीखोला, खेती खोलाले खासगरी इटहरीका वडा नं. ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । यी वडाहरुमा खोला तथा सप्तकोसीबाट आउने खनार क्षेत्रको नहरले इटहरी डुबानमा पर्ने गरेको छ ।
यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।
Discussion about this post