इटहरी : युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा नेपाल प्रहरीले इटहरीका एक युवकसहित ६ जनालाई पक्राउ गरेको छ ।
विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गरेको अभियोगमा इटहरीका एकसहित ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी ७, सुनसरीका ३० वर्षीय सञ्जीव दर्जी, हलेसी ७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, मेलुङ ५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा, सूर्यविनायक ९ भक्तपुरकी १९ वर्षीय निकिता केसी र ढुसेनी ३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार रहेको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अुनसार पक्राउ परेकाहरू गिरोह रहेकाले उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने, गराउने गरेका थिए ।
त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।
नीहरूले केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी हैरानी दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कोइरालाले बताए ।
‘सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको पाइएको छ’ कोइरालाले भने ।
पक्राउ परेकाहरूलाई आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post