इटहरी : यातायात व्यवस्था कार्यालय इटहरीमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अनुगमन गरेको छ ।
मंगलबार मन्त्रालयका सचिव उमेश बस्नेतसहितको टोलीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीको सवारी चालक र सवारी व्यवस्था कार्यालयमा अनुगमन गरेको हो ।
प्रदेश १ सरकारले मन्त्रालय घटाएर यातायात तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला मन्त्रालयमै ‘मर्ज’ गरेसँगै मंगलबार कार्यालयमा अनुगमन गरिएको सचिव बस्नेतले बताए ।
‘यातायात कार्यालयबाट सेवा प्रदायक के रहेछ भनेर आज दुईवटा कार्यालयमा अनुगमन गरिएको हो,’ बस्नेतले टाकुरासँग भने, ‘अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र प्रदान गर्ने कार्यालयमा सेवा प्रभावित भएको पाइयो ।’
उनले सवारी चालक अनुमति पत्र कार्यकक्षमा सेवाग्राहीले सेवा पाउन प्रभावित हुने गरेको बताए ।
सेवाग्राहीले कुन काउन्टरबाट के सेवा पाउने भन्ने उल्लेख नहुँदा अलमलमा पर्ने बताए । ‘नयाँ मान्छे जाँदा काउन्टरमा के काम हुन्छ भनेर नबुझीकन पत्ता लाग्दैन,’ सचिव बस्नेतले भने, ‘सूचना अधिकारी वा गुनासो सुन्ने अधिकारीको नाम र नम्बर सहज रूपमा सेवाग्राहीले नपाएका कुरा पनि आएका छन् ।’
उनले कार्यालय सरसफाईदेखि कार्यालय व्यवस्थापन गरी सहज र सरल सेवाका लागि कर्मचारीहरूलाई निर्देशन दिए । यस्तै, सवारी व्यवस्था कार्यालय भने कोठाभाडामा रहेका कारण व्यवस्थित हुन नसकेको उनले जानकारी दिए ।
‘सेवामैत्रीको भाव बुझेरै जनताको गुनासोका आधारमा अनुगमनमा निस्किएका हौँ,’ उनले भने, ‘कार्यालय प्रमुखहरूलाई सेवा सुधारका निम्ति निर्देशन दिएको छु ।’
प्रदेशभरी रहेका यातायात कार्यालय प्रमुखहरूलाई शुक्रबार बैठक राखेर सेवाग्राहीलाई प्रदान गरिने सेवाबारे छलफल गरिने उनको भनाइ छ ।
यातायात कार्यालयमा बिचौलियाको हाबी हुन्छ भन्ने गुनासो छ नि भन्ने प्रश्नमा बस्नेतले भने, ‘कुनै पनि कार्यालय आसपास बिचौलिया राख्न पाउने व्यवस्था छैन, त्यसो भएको अवस्थामा हामी थप अनुगमन गरी निर्णय गर्छौँ, यो विषयमा पनि शुक्रबार घनीभूति रूपमा छलफल हुन्छ ।’
Discussion about this post