इटहरी : कुनै समय गीतहरू मनले सुनिन्थ्यो र मन्त्रमुग्ध भएर शब्द, सङ्गीत र स्वरको आनन्द लिइन्थ्यो ।
तर, आजकल गीतहरू सुनिदैन, हेरिन्छ । बजारमा हेर्ने गीतहरुको बिगबिगी छ । मान्छेहरू देखावटीपनमा रमाउन थाले, आत्मिक आनन्द भुलेर ।
साहित्य र सङ्गीतको सक्कली विशेषता गहिरो स्पर्श हो, सतही होहल्ला होइन । तर, मान्छे क्षणिक सुखको प्यासी बन्यो । अन्ततः पानीको तिर्खा बियरले नमेटिएपछि प्रकृतिको साश्वत सत्यमै फर्किनुको विकल्प रहन्न ।
हेर्ने गीतबाट पुनः सुन्ने गीततर्फ नेपाली श्रोता सम्मोहित हुन थालेको संकेत पाइन थालेको छ । यस्तै एउटा सुन्ने गीत लिएर साहित्यकार गणेश खड्का नेपाली सांगीतिक बजारमा आएका छन् ।
अनावश्यक खर्च गरेर डाँडामा मोडेल उफार्दा गीतको सक्कली स्वरुप नै नष्ट हुने र यसका मूल श्रष्टाहरुलाई मार्का पर्ने नमिठो यथार्थले पिरोलेपछि गीतको न्यायका निम्ति हेराउने होइन, गीत सुनाउने जमर्को गरिएको गीतकार गणेश खड्काले बताए ।
पुतलीका हूलहरू तिमी जस्तै लाग्छन्,
फक्रिएका फूलहरू तिमी जस्तै लाग्छन् ।
खड्काको शब्दलाई नेपाली सङ्गीत आकाशका जिउँदा इतिहास दीपक जङ्गमले जिवन्त सङ्गीत गरेका छन् भने युवा पुस्ताका बेजोड प्रतिभा भविन ढुंगानाले कर्णप्रिय आवाज दिएका छन् ।
किरण कँडेलको संगीत संयोजन, शम्भु तण्डुकारको रेकर्डिङ्ग र गोपाल एरिको भिडियो मेकिङ्ग रहेको पुतलीका हूलहरू माघ २० गते युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो
Discussion about this post