धरान : धरानमा जारी सातौँ हराइजन बास्केटबल प्रतियोगिता अन्तर्गत विगभागी टिम नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथि ४६ का विरुद्व ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पुलिसलाई विजयी गराउन व्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद एक हजार पाँच सय पाए ।
पुलिसले अब सेमिफाइनलमा आगामी बिहीबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का विरुद्व ७२ स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
मंगलबारको खेल डिफेण्डिंग च्याम्पियन तथा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको टाइम्स क्लब काठमाण्डौँ र विराटनगर बास्केटबल एकेडेमीबीच हुनेछ ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछन् ।
Discussion about this post