रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ ।
यही चैत १९ गते हुने उवासंघ झुम्काको निर्वाचनमा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको हो ।
आफ्नो भूगोलअनुसारका मतदाता हुनुपर्ने भएपनि बाहिर व्यवसाय भएका मतदाता हालेको पाइएपछि विवाद उत्पन्न भएको हो ।
अध्यक्षका उम्मेदवार भरत कार्कीका अनुसार इटहरी र इनरुवामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई रामधुनी ठेगानाकै हालेर मतदाता नामावलीमा राखेको पाइएपछि विवाद उत्पन्न भएको हो ।
‘चुनाव जित्ने मात्रै उदेश्यले बाहिरी क्षेत्रका मतदाता ल्याएर हालेको पाइएपछि १५ जनाको हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गरेका छौँ,’ कार्कीले टाकुरासँग भने, ‘इटहरी ९ मा व्यवसाय भएकालाई रामधुनी ९ बनाएर मतदाता बनाइएको छ, इनरुवामा व्यवसाय भएकालाई पनि रामधुनीकै ठेगानामा मतदाता नामावलीमा समावेश गरिएको छ ।’
अध्यक्षका उम्मेदवारद्वय दुर्गा फुयाँल र भरत कार्कीसहित १५ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
आधिकारिक व्यापारी नभएका र भूगोलभित्र नपर्नेलाई मतदाता नामावलीमा समावेश गरिएपछि आँफूहरूलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसमक्ष उजुरी गरिएको उनले बताए ।
प्रजिअ पाण्डेले निर्वाचन अधिकृत डिल्ली कार्की र उवासंघ रामधुनीका वर्तमान अध्यक्ष धर्मेन्द्र साहलाई बोलाएर स्पष्टीकरण पनि लिएकी छन् ।
‘फेक’ मतदाता भएको पाइए सच्याउन र बिधानसम्बत निर्वाचन गराउन उनको निर्देशन छ । जम्मा एक हजार ४९० मतदातामध्ये हालसम्म ७० जनाभन्दा बढी ‘फेक’ मतदाता भेटिएको र करीब चार सय ‘फेक’ मतदाता हुनसक्ने अुनमान गरिएको छ ।
इटहरी १ मा व्यवसाय भएकालाई रामधुनी १, इटहरी २ मा व्यवसाय भएकालाई रामधुनी २, इटहरी ९ मा व्यवसाय भएकालाई रामधुनी ९, इनरुवा, सुन्दरहरैँचा र धरानमा व्यवसाय भएकालाई पनि ठेगानाअनुसार रामधुनी लेखेर मतदाता हालिएको बताइएको छ ।
निर्वाचनका लागि अध्यक्षमा भरत कार्कीसहित उनको प्यानल, दुर्गा फुयाँलको प्यानल, नवीन चौधरीको प्यानल र भोला रौनियारको प्यानल चुनावी प्रतिष्पर्धामा छ ।
Discussion about this post