भोजपुर : भोजपुरमा घरमा खेल्दाखेल्दै हराएकी एक बालिका मृत फेला परेकी छन् । भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् ।
प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेकी हुन ।
बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला प्रहरी प्रहरीले जनाएको छ ।
‘नाबालिका हराएको भनेपछि दिपचन्द्र आफैं पनि प्रहरीसँग खोजी गर्न भनेर हिँडेका थिए,’ भोजपुरका डीएसपी सुदीपराज पाठकले भने, ‘तर उनीसँग नाबालिकाको अन्तिम पटक भेट भएको भनेपछि हामीले नियन्त्रणमा लियौं।’
दिपचन्द्र नाबालिकाका छिमेकी समेत हुन्। जसकारण मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन। सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए।
तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो। ‘शरीरमा घाउहरू देख्यौं। त्यसपछि कसरी भयो भनेर सोध्यौं पनि तर घाँस काट्न जाँदा भयो भनेका थिए,’ डीएसपी पाठकले भने, ‘तरपछि उनले घटना घटाएको स्वीकारे।’
घटनाबारे स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post