विराटनगर : इटहरीकी एक छात्रामाथि सामूहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ ।
मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर गरेको हो । कसुर ठहर भएपछि सजाय निर्धारण भने अर्को पेशी कार्तिक २२ गतेको इजालशले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
अदालतले दोषी ठहर गरेसँगै सुवेदी र राउतले छात्रामाथि सामूहिक बलात्कार गरेको पुष्टि भएको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि दुवै जना २०७९ भदौमा करागार चलान भएका थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि उनीहरुलाई हुने कैद सजाय निर्धारण गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी सुवेदीले बताए ।
उनका अनुसार दुवै जनाले कति वर्ष कैद बस्नुपर्छ भनेर सजाय निर्धारण गर्नलाई आगामी कात्तिक २२ गतेको समय तोकिएको छ । अहिले सुवेदी र राउत दोषी ठहर मात्रै भएका हुन् । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विराटनगर महानगरपालिका ४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरूले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेखछ । अन्तिम पटक भने अघिल्लो असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।
युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । छात्राले किटानी जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।
छात्रालाई नसालु पदार्थ सेवन गराएर दुवै जनाले समूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।
जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका थिए ।
Discussion about this post