तरहरा : तरहरा जेसीजले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । शनिबारबाट सुरु भएको कार्यक्रम आगामी शनिबार समापन हुनेछ ।
शनिबार ‘जेसीज रन’ गर्दै सप्ताह कार्यक्रमको उद्घाटन गरिएको अध्यक्ष बहादुर तामाङले जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाक्लो संख्यामा धावकहरू सहभागी थिए ।
उनकाअनुसार आइतबार तरहरामै ‘स्लो बाइक रेस प्रतियोगिता’ कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेल प्रमुख अतिथि थिए ।
अब मंगलबार तरहरा फुटसलमा ‘क्षेत्र क’ भरीका जेसीजहरूबीच फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी रहेको उनको भनाइ छ ।
यस्तै, बुधबार रक्तदान कार्यक्रम, शुक्रबार अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता र शनिबार गजल साँझ गर्दै सप्ताह कार्यक्रम समापन गरिने तामाङले बताए । जेसीजले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै समाजलाई सकारात्मक सन्देश दिदैँ आएको छ ।
हिमांशु विश्वकर्माको मूल संयोजकत्वमा भएको विभिन्न कार्यक्रमको संयोजकहरूमा सुरज लामा, गोविन्द लामिछाने, सरोज बस्नेत, विनिता तामाङ, रोशन भुजेल र सुमन रेग्मी रहेको महासचिव चेवन खतिवडाले जानकारी दिए ।
Discussion about this post