इटहरी : वरिष्ठ गीतकार आनन्द अधिकारीले सर्जक हरेक गीतमा जन्मिने भएपनि गीत सार्वजनिक भएपछि ऊ मर्ने बताएका छन् ।
इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालको भवनमा इटहरीका कवि, लेखकहरूसँगको भेटघाटका क्रममा उनले सर्जक हरेक गीतमा जन्मिएपनि गीत सार्वजनिक भइसकेपछि ऊ मर्ने बताएका हुन् ।
‘गीत लेख्नेको पीडा र संगीतकारको दुःख उतिनै छ,’ उनले भने, ‘गीतकार हरेक गीतमा जन्मिन्छ, त्यो गीत सार्वजनिक भएपछि ऊ मर्छ । हामीले रोयल्टी मात्रै एक ठाउँमा ल्याइदियौँ भने सर्जकलाई सहज हुन्छ । अबको पुस्ताले सृजनाको मूल्य खोज्न आवश्यक छ ।’
अबको नेपाल भनेको स–साना बालबालिका रहेको उनको भनाइ छ ।
‘हामी सबै विचरा भएका छौं । हामीसँग सक्षमता र एकताको सुत्रधार हुँदाहुँदै पनि विचरा भएका छौं । अहिलेका बच्चालाई हामीले कमजोर बनाइरहेका छौं । सानो चिज पाइएन भने जिन्दगीबाट बिदा लिने र हार्ने प्रवृत्ति छ,’ अधिकारीले भने ।
पछिल्लो पुस्ताले गीत, संगीतलाई छाडापन बनाइरहेकोमा उनको चिन्ता छ । उनले भने, ‘पहिलेका गीतमा भावनात्मक पीडा हुन्थ्यो, अहिलेका गीतमा छाडापनका कारण पीडा हुन्छ ।’
उनले सर्जकको नामभन्दा सृजना ठूलो हुने तर्क राखे । पछिल्लो समय हरेक क्षेत्रमा नेतृत्वका लागि होडबाजी भइरहँदा उनले नेतृत्व गर्नका लागि भाषण नभइ, त्याग आवश्यक रहेको सुनाए ।
‘केही त्यागीहरूका कारण मात्रै हामी नेपाली भन्न पाएका छौँ,’ उनी भन्छन्, ‘नेतृत्व गर्न धूलो हुनुपर्नेरहेछ, धूलो भएमा मात्रै तल्लो स्तरबाट सबै कुरा बुझ्न सकिन्छ ।’
नेपाल बहुजातीय, बहुभाषीय मुलुक भएकाले यहाँ हरेक नागरिकको आफ्नै संस्कृति र पहिचान रहेको बताउँदै अरु देशभन्दा भिन्न रहेको उनको भनाइ छ । ‘सबैभन्दा बढि संस्कृति र पहिचान भएको देश नेपालभन्दा अरु कहिँ छैन’ उनले भने ।
नेपाली सेनाका उपरथीसमेत रहेका उनले देशलाई थुक्नेहरूलाई सन्देश दिए – ‘आमालाई नथुकन !’
अधिकारीका सयौँ गीतहरू चर्चित छन् । उनको ‘तिमीले दिने माया अजम्बरी छ भने,’ ‘तिमी बिनाको जीवन,’ ‘ओराली लागेको हरिणको चाल भो,’ ‘शिरफूल शिरैमा,’ ‘बाँचुन्जेलीलाई,’ ‘हिरा काट्ने हिरै मा,’ ‘नेपालको माटोलाई,’ ‘सलल खोलीको पानीले,’ ‘फूलको दिलमा,’ ‘एकादेशमा एउटा माया गर्ने मुटु छ’ लगायत सयौँ गीतहरू चर्चित छन् ।
उक्त साक्षात्कार कार्यक्रममा नेपाल म्यूजिक एसोसियसनका अध्यक्ष संगीतकार मिलन मोक्तान, गीतकार संघ नेपालका अध्यक्ष गीतकार बसन्त बित्यासी थापालगायतले गीत, संगीतबारे चर्चा गरेका थिए ।
यस्तै, कार्यक्रममा कवि मनु मञ्जिल, टीका आत्रेय, युवराज काफ्ले, हेम विश्वकर्मा, सुष्मा दाहाल, गायत्री लम्साल, एलपी पराजुली, विवेक विवश रेग्मी लगायतले कविता सुनाए ।
कार्यक्रममा डा. रामजी तिम्सिनाले सटिक समालोचनासमेत गरे ।
संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले प्रतिष्ठानको भवन नागरिकस्तरबाट तयार गरिएको बताए ।
उनले यहाँ गीत, संगीत पढाउने उदेश्यले प्रतिष्ठानको भवन निर्माण गरिएको बताउँदै अहिले बालबालिकासँग संगीत साधना अभियान सञ्चालन गरिरहेको बताए । जहाँ बालबालिकाहरूभित्र रहेको गायन तथा वाद्यवादनको खोजी गरिने उनको भनाइ छ ।
Discussion about this post