३० वर्ष काट्नु भनेको ३० वटा हिउँद कटाउनु वा ३० वटा केक काटिनु मात्र होइन । जीवनको एउटा महत्वपूर्ण अध्याय गुजार्नु पनि हो । जिन्दगीले ३० औँ बसन्त पार गर्दै गर्दा असली सम्बन्धका वृत खुम्चिदैँ जाँदा रहेछन् ।
र, जिन्दगीका प्राथमिकताको सूची पनि छोटिदाँ रहेछन् । जीवनका इच्छाहरू, चाहना र आवश्यकतामा विभाजित हुँदा रहेछन् । थुप्रै चाहनाहरूलाई त्याग्दै आवश्यकताकोे साँध निर्धारण गर्नुपर्ने रहेछ । यसबीचमा सपनाका आयामहरू पनि साँघुरो बन्दै जाँदारहेछन् ।
कहिलेकाँही ‘म’ बाट ‘मलाई’ पर निकालेर आफैलाई प्रश्न गर्छु । खल्तीमा ३० हजार सधैँ हुन्छ ? हुँदैन ।
समाजमा ३० जनाको प्रेरणाका स्रोत बन्न सकिएको छ ? छैन । ३० जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिएको छ ? छैन । ३० ठाउँ राम्ररी घुमिएको छ ? छैन । ३० वटा पुस्तकको गहिराइसम्म पुगेर अध्ययन गरिएको छ ? छैन ।
यी र यस्ता प्रत्येक प्रश्नको उत्तर छैनमा टुंगिन्छ भने ३० वर्षसम्म व्यर्थै जीवन खेर फालिएछ कि भन्ने सोचाइले भयभीत हुन्छु । अनि जिवनमा आफू हिडेको वाटो पुन फर्केर नियाल्न खोज्दछु।
जिन्दगीका ३० औँ भञ्ज्याङ पारिबाट आफू हिँडेको बाटो सम्झन्छु । पाँचौ भञ्ज्याङभन्दा पारिको सम्झना आफ्नै नजरले धमिलो देख्छ ।
त्यसबेलाको समय खासै याद गर्न पनि सकिन्न । त्यसयता कहिले राम्रो गरेंजस्तो लाग्छ, कहिले असफल भएजस्तो पनि लाग्छ ।
कतै भविष्य उज्यालो भएजस्तो लाग्छ त कहिले निष्पट्ट अँध्यारोजस्तो पनि लाग्छ । यतिका धेरै वर्ष वितेको पत्तै नहुँदा यो ब्रमाण्डमा सबै भन्दा छिटो त मान्छेको उमेर उड्दो रहेछ जस्तो पनि महसुस हुन्छ ।
कहिलेकाहीँ दौंतरीहरूसँग चिया गफमा अलिक बढी समय नै बित्छ । चिया गफमा हुने कुरा तिनै हुन् । कहिले व्यक्तिबारे, कहिले समाज, देश, राजनीति, देशमा भइरहेका समसामयिक घटनाक्रम त अबको देशबारेका चर्चा, परिचर्चा भइरहन्छन् । तर, यसबाहेक अर्को कुरा पनि हुन्छ । त्यो हो आफ्नो निजी जीवनका कुरा ।
जस्तैः
‘हामी र हाम्रो पुस्ता अलिक चाँडै पो जन्मिएछ कि ?’
‘१० वर्षपछि जन्मिएको भए कति प्रगति हुन्थ्यो होला ?’
वा अघिल्लो पुस्तालाई हेर्दै हामी भनिरहेछौँ कि, ढिलो जन्मियौँ हामी ।
‘हामीले अरु पाँच, सात वर्ष पहिले जन्मिएको भए केके गरिसक्थ्यौँ होला ?’
यी र यस्तै कल्पनाका कुराहरू पनि हुन्छन् । जसले हामी (म) आफूले बाँचेको जीवनप्रति पूर्ण सन्तुष्ट छैन भन्ने कुरा म सहजै अनुमान लगाउन सक्छु । हुनत एक दृष्टिकोणबाट हेर्ने हो भने हामी आ–आफ्नो क्षेत्रमा, कर्ममा र जीवनमा कोहीपनि पूर्ण सन्तुष्ट छौँ जस्तो लाग्दैन ।
यो मेरो निजी अनुमान हो । मेरो अनुमान सतप्रतिशत सही हुनैपर्छ भन्ने छैन ।
केही वर्ष पहिले जन्मिएका दाजुलाई सम्झिन्छु । र, मोबाइलमा क्यालकुलेटर निकाल्छु । तत्कालीन समयमा दाजुले मलेसियामा श्रम गर्दा मासिक ४० हजार रुपैयाँ कमाउनुहुन्थ्यो । यसरी हेर्दा वर्षको चार लाख ४८ हजार । क्यालकुलेटरले निस्फ्रिकी हिसाब निकालिदियो ।
त्यसबेला यति पैसाले राम्रै ठाउँमा, राम्रै जमिन आउँथ्यो । त्यही जमिन अहिले महिनाको चार लाख कमाउँदा पनि किन्न गाह्रो हुने अवस्था देखिन्छ । तर, अहिले देशको अर्थतन्त्रको अवस्था हेर्ने हो भने चार लाख होइन, यसको चार गुणा कम गर्दा पनि कमाउने अवस्था छैन । धेरै असत्य खबरहरूबीच यो सत्य कुरा हो ।
कहिलेकाहीँ सोच्छु, केही वर्षअघि जन्मिएको थिएँ भने, म खाडी मुलुक नै गएर भएपनि राम्रै कमाउँथे होला । राम्रै गाडी चढिन्थ्यो होला । फेरि अर्को मनले सोच्छु, अलिक ढिलो जन्मिएको थिएँ भने, प्रविधिको विकासले थुप्रै अवसरहरू प्राप्त हुन्थे होलान् ।
तर, हाम्रो जस्तो बहिर्मुखी समाजमा जो वस्तु जगततिर मात्र हेरेर प्रगतिको मापन गर्दछ, उसलाई बाँच्नका निम्ति निकै सकस हुनेरहेछ ।
त्यसो त एकप्रकारले सोच्दा राजतन्त्रदेखि, १० वर्षे जनयुद्धदेखि, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रित गणत्रतान्तमक मुलूकलाई हाम्रो पुस्ताले नजिकबाट नियालिरहेको छ ।
जीवनको उमेर ठीक, कि बेठीक भन्ने प्रश्न एकातिर उब्जिरहँदा यी विभिन्न कालखण्डलाई नियाल्दा यस्ता युगान्तकारि परिवर्तनको साक्षी बन्न पाउदा कहिलेकाहीँ आफू जन्मेको समय एक हिसाबले ठीक समयको मूल्यांकन गर्छु ।
मलाई केही समयअघि मात्रै समाजका एक शिक्षित व्यक्तिले प्रश्न सोध्नुभयो ।
‘तपाईँ कुन राजनीतिक दलमा आवद्ध हुनुहुन्छ ?’
वहाँको प्रश्नले म झस्किएँ । जसबाट मैले त्यो किसिमको कुनै प्रश्नको अपेक्षा नै गरेको थिइँन । उहाँबाटै उपेक्षित प्रश्नले म झस्किएको सत्य हो । मैले उहाँलाई केही बेरपछि मुस्कुराउँदै जबाफ पर्काएँ ।
‘म कुनै दलमा छैन । कुनै दलको साधारण सदस्य लिएको छैन । त्यसैले म कुनै राजनीतिक दलमा छैन भन्दा कस्तो हुन्छ ?’
मेरो उत्तरमा केही प्रश्न पनि मिसिएको थियो ।
उहाँले लगत्तै भन्नुभयो – ‘उसोभए तपाईँ किन नेपाल बस्नुभएको त ? कि त देश बनाउनुप¥यो, कि त देश छाड्नुप¥यो ।’
वहाँको यो कुरामा केही आक्रोश देखिन्थ्यो । केही देशका शीर्षस्र्थप्रति व्यङ्य झल्किन्थ्यो । केही देशको वर्तमान अवस्थाको चित्रण प्रस्तुत हुन्थ्यो ।
उहाँको त्यो कुराले म निशब्द बनें । अहिले पनि कहिलेकाहीँ त्यो कुरा सोच्दा मन एकत्रित बनेर सोचिरहन्छ ।
हुनत मसँग देश परिवर्तन गर्न सक्ने कुनै अद्भुत क्षमता पनि छैन । न कुनै विकासमा छलाङ्ग मार्ने, कुनै दृष्टिकोण नै छ । न कुनै नेताको झोला बोकेर वर्षौँपछिसम्म लाग्ने समय नै छ ।
अहिले म र मजस्ता धेरै युवाहरूले एउटा भाष्य निर्माण गरेका छन् । यो देशले हामीलाई के दियो ? यो भाष्य आम मानिसको मस्तिष्कमा परेको छ । म पनि यसबारे कहिलेकाहीँ सोच्छु । तर, फेरि सोच्छु कि, यो देशले मलाई जन्म दियो ।
तर, मैले यो देशलाई के दिएँ ? हामीले देशलाई केही दिन नसकेरै पनि देशलाई नै गाली गरिरहेका छौँ । कतै हाम्रो सोचाइको दायरामै पो कमजोरी छ कि ? यसबारे पनि सोच्न आवश्यक छ जस्तो लाग्छ ।
यही देशको माटोमा आफ्नो सपनालाई साकार दिनका निम्ति लिएको अठोटको डोरी मक्किएजस्तो महसुस भएपनि अझै देशमा केही गर्नु त छदैँछ ।
अन्त्यमा, आफ्ना बा को त्यागलाई, आमाको सपनालाई साकार पार्दै आफ्नो पहिचान बनाउनु त छदैँछ । हरेक जन्मदिनले जीवनबारे झस्क्याइरहेपनि जीवनका लागि नयाँ अध्यायको सुरुआत त गर्न बाँकी नै छ …
Discussion about this post