विराटनगर : विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गरे ।
वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका संयोजक घिमिरेले पछिल्लो समय सहकारीप्रति आमर्वसाधारणको नकारात्मक धारणा बन्दै गएको बताए ।
उनले केही सहकारीका कारण समग्र सहकारीमाथि नै जनताको अविश्वास बढ्दै गएको बताएका थिए । लेखा प्रणाली चुस्तदुरुस्त राख्न सकिए सहकारीमा हुने हिनामिना र अपचलन रोक्न सकिने घिमिरेको भनाइ थियो ।
तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पल्र्सको उपयोग, परिचय, महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने सहकारी शाखाकी रोजी कार्कीले बताइन् ।
महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूको क्षमता विकासका लागि सहकारी लेखा तथा पल्र्स तालिम आयोजना गरिएको कार्कीले बताइन् । उनकाअनुसार तालिम पाँचदिनसम्म सञ्चालन हुनेछ ।
जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले राज्यले तीनखम्बे नीतिमा सहकारीलाई समेटे पनि व्यवहारमा लागू गर्न नसकेको आरोप लगाए ।
रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको पोखरेलले बताए ।
सो अवसरमा सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिना, नेफ्स्कुन विराटनगर शाखाका अध्यक्ष लक्ष्मणप्रसाद अधिकारीलगायतले बोलेका थिए ।
तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्ने बताइएको छ । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेका छन् ।
Discussion about this post