विराटनगर : विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुई वटा मञ्चन भएका छन् ।
हाटखोलास्थित गुरुकुलमा ‘ह्वी क्यान’ ले ‘स्कूल’ मञ्चन गरेको हो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको हो ।
‘स्कूल’ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको थियो । नवराज पराजुली लिखित तथा विकास बुढाथोकीद्धारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदीक्षा पोखरेल, ओमप्रतिक चौधरी, सिकुम लिम्बु लगायतले अभिनय गरेका थियो ।
यस्तै सोमबार मञ्चन गरिएको दोस्रो नाटक हेत्छाकुप्पाले पौराणिक कथालाई सुन्दर ढंगले पेश गरेको थियो ।
प्रवीण पुमा लिखित नाटकलाई सुमन कुइँकेलले निर्देशन गरेकी हुन् । नाटकमा दुई दिदीहरूले मरेको भनी छोडेका भाइ हेत्छाकुप्पाले महिला राक्षस चक्रङ्गदिमाको पासोबाट बाँच्न र समृद्ध हुन गरेका संघर्षलाई देखाइएको थियो ।
बुधबारसम्म चल्ने नाटक महोत्सवमा मंगलबार दिउँसो ३ बजे गौरादह जेसीज तथा झोराहाट नाट्य समूहको नाटक ‘सुरुङ’ मञ्चन हुनेछ ।
अन्तिम दिन दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नाटक मञ्चन गर्ने जनाइएको छ ।
Discussion about this post