इटहरी : सोमबार दिउँसो बूढीखोलाले बगाएका चारमध्ये दुई महिला अझै बेपत्ता छन् । एकजना भने पौडी खेलेर बाढीबाट बच्न सफल भएकी छन् भने एकजनाको इटहरी ४ स्थित गैरीगाउँमा शव फेला परेको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीस्थित रामसरी चौधरीका तीन बुहारी र एक देउरानी माछा मार्न खोलामा गएको बेला बूढीखोलमा आएको बाढीले बगाएको थियो ।
३० वर्षीया फूला, २३ वर्षीया स्वस्तिका, २३ वर्षीया प्रेमकला र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको थियो ।
जसमध्ये प्रेमकलाको शव फेला परेको थियो भने स्वस्तिका भने बाढीबाट बाहिर निस्किएकी थिइन् । फूला र असरादेवी भने अझै फेला परेका छैनन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले खोजी कार्य भइरहेको जनाए । ‘हामीले हिजैदेखि खोजी कार्य गरिरहेका छौँ,’ उनले टाकुरासँग भने, ‘अहिले खनार क्षेत्रमा पनि खोजी भएपनि फेला पार्न सकिएको छैन ।’
निरन्तर वर्षाका कारण खोजी गर्नसमेत समस्या भइरहेको उनको भनाइ छ । डीएसपी कार्कीले भने, ‘निरन्तर पानी परिरहेका कारण पनि खोजी गर्न समस्या भइरहेको छ । हामीले हिजैदेखि विभिन्न क्षेत्रमा खोजी गरिरहेका छौँ ।’
बाढीबाट बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो ।
‘हरैँचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’ उनले भनिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो । त्यहाँ बीचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मारिरहेका थियौँ । एक्कासि उभोबाट बाढी आयो र बगायो ।’
उक्त परिवारका तीन छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने तीनै छोराहरू वैदेशिक रोजगारीमा थिए । रामसरीका जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदूरी गरिरहेका छन् ।
माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन् । उक्त घटनाले चौधरी परिवारमा असह्य बज्रपात परेकाले आफूहरूसमेत भावविह्ल अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।
भिडियो
यो पनि – जब रामसरीले सुनिन् ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो…’
यो पनि – इटहरीको बूढीखोलाले मान्छे बगायो, एक युवतीको शव फेला
Discussion about this post