विराटनगर : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
सो परियोजनाका लागि एसबीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरका मेयर नागेश कोइरालालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यकक्षमै पुगेर बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि ११ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १८ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र बिरुवासमेत रोपिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेकी पुनम दाहालले जानकारी दिइन् ।
मेयर कोइरालाले विराटनगरको सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले पु¥याइरहेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
‘महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भइरहेको छ,’ मेयर कोइरालाले भने, ‘महानगरले अन्य परियोजनाहरू पनि यस्तै साझेदारीमा सञ्चालनको योजना बनाएको छ ।’
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।
महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।
परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ ।
हाल महेन्द्रचोकदेखि रोडशेषसम्मको डिभाइडरमा तारजाली लगाउने कार्य धमाधम भइरहेको छ ।
Discussion about this post