इटहरी : कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । गत असोज ६ गते गठन भएको कार्यदलले बिहीबार (आज) मुख्यमन्त्री हिक्मत कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेसँगै सार्वजनिक गरिएको हो ।
कार्यदलले बुझाएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक गरिएको हो । क्षेत्रगत प्राथमिकता छुट्याएर न्यूनतम साझा कार्यक्रम सम्बन्धी ८ पेज लामो मस्यौदा तयार पारेको छ ।
कार्यदलले बनाएको साझा कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
उक्त मस्यौदामा खुर्कोट–चतरा, तुम्लिङटार–चतरा र ताप्लेजुङ तमोर दोभान–चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने विषयलाई कार्यक्रममा समेटिएको छ ।
प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको सूचीमा राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्राण्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ ।
यसैगरी गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने लगायतका विषय समेटेर कार्यक्रम तयार पारेको छ ।
विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
सरकारले बनाएको कार्यदलमा कांग्रेस र एमालेका ३–३ जना थिए ।
एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक थिए भने कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।
न्यूनतम साझा कार्यक्रम पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोस्
Discussion about this post