इटहरी : सुनसरीस्थित जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात भएको छ ।
इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि हातपात गरेका हुन् ।
आफ्नी आमाको उपचारका लागि अस्पताल गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको बताएका छन् ।
थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ ।
थापाले प्रहरीलाई बताएअनुसार बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भन्दै मेसु राईमाथि हातपात भएको हो ।
एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधी सिफारिस गरेको भन्दै राईमाथि हातपात गरेको प्रहरीको भनाइ छ ।
डाक्टरमाथि हातपात गर्ने थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post