धरान : धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत अदालतलाई चुनौती दिएका छन् ।
बेलायत भ्रमणमा रहेका साम्पाङले कार्यवाहक मेयर दिएका धरान ११ का वडाध्यक्षलाई उच्च अदालतले जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएपनि उनले आदेशको अवज्ञा गरेका छन् ।
आइतबार नै उच्च अदालतले जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएपनि सोमबार पनि कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्र फागोले कार्यवाहककै हकमा काम कारबाही गरेका छन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् ।
उच्च अदालत विराटनगरका न्यायधीश ध्रुवराज नन्दको इजलासले मेयर साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको थियो ।
उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएपनि फागोले सोमबार पनि काम गरेपछि बेलायतमै रहेका मेयर साम्पाङले भने सामाजिक सञ्जालमार्फत नै अदालतलाई चुनौती दिएका हुन् ।
‘मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ, जुन जनताले बनाउनु भएको हो,’ उनले सञ्जालमा लेखेका छन्, ‘मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरको अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ, उही हो कार्यवाहक । केही हल्ला नगर ! मुख छाड्नु नपरोस् !’
मेयर साम्पाङले धरानको विकासको लागि आफू बेलायत गएको दाबी गर्दै धरानको बद्नाम नगर्न पनि आग्रह गरे ।
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।
यदि, उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई जिम्मेवारी दिने उल्लेख छ । तर, मेयर साम्पाङले भने ऐन विपरीत उपमेयर आइन्द्रविक्रम बेघा उपस्थित हुँदाहुँदै वडाध्यक्ष फागोलाई जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको थियो ।
यो पनि – धरानमा हर्क साम्पाङले कार्यवाहक तोकेका फागोले गरे अदालतको आदेश अवज्ञा
यो पनि – हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएकोबारे उच्च अदालतले दियो अल्पकालीन आदेश
यो पनि – धरानका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि चौतर्फी आलोचना, ६ दलले जनाए विरोध
यो पनि – धरानका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी
Discussion about this post