धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ ।
नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले शनिबार (आज) जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच जिल्लास्तरीय प्रशिक्षात्मक तथा मध्यावधि समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।
जनप्रतिनिधिहरूले आफ्नो कामको आत्मसमीक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अगाडि बढाउन कार्कीले सुझाव समेत दिए ।
पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरू लथालिङ्ग भएको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरूबीच समन्वयको खाँचो रहेको उल्लेख गरे । एमालोबट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरीत र पार्टीलाई बद्नाम गर्ने छुट नरहेको उनको जिकिर थियो ।
‘हामीलाई पार्टीले राम्रो काम गर्नु भनेर पठाएको हो । नराम्रो गर्ने र पार्टीलाई बद्नाम गर्ने छुट हामीलाई छैन,’ उनले भने, ‘आफ्नो कामको राम्रोसँग समीक्षा गरौँ र जनपक्षीय काममा अघि बढौ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए ।
Discussion about this post