खोटाङ : सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।
फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी लक्ष्मण साम्पाङले जानकारी दिए ।
“रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् ।चरनमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उनले भने, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।”
फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।
घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताए ।
घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिए ।
चोरी सिकार गर्नेलाई कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु हराउन थालेको स्थानीयले बताएका छन् ।
Discussion about this post