इटहरी : इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सुरू भएको छ ।
कार्यक्रम अन्तर्गत इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरू भएको हो ।
विद्यालयमा प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न खटाउने गरी इटहरी उपमहानगरपालिकाले १९ जना स्टाफ नर्स नियुक्त गरेर नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको हो ।
कार्यक्रम अनुसार नर्सहरूले सामुदायिक विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।
यस्तै उनीहरूले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई उपचारको लागि रेफर गर्ने लगायतका कार्यहरू गर्ने मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाइ र पोषणमा प्रवर्द्धन गर्दै मानसिक स्वास्थ्य र किशोर, किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ सेवा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने पौडेलको भनाइ छ ।
उपमहानगरपालिकाले अघिल्लो वर्षदेखि नै आन्तरिक श्रोतको प्रयोग गरेर जनता बहुमुखी क्याम्पस इटहरी, कबिर माध्यमिक विद्यालय इटहरी, सहिद स्मृति आवासीय विद्यालयमा नर्सिङ सेवा सुरू गरेको थियो ।
Discussion about this post